राजनीति

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आक्रमणप्रति कांग्रेसले यसरी गर्यो प्रत्याक्रमण !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार पुष्पलालको ४० औँ स्मृति दिवसको कार्यक्रममा व्यक्त गरेको धारणाप्रति प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालको अभिव्यक्तीप्रति कांग्रेस आक्रमक बनेको हो ।

चार बुदेँ विज्ञप्ती मार्फत कांग्रेसले ओली र दाहाललाई तारो बनाएको छ ।

यस्ता छन् विज्ञप्तीका चार बुदाँः

१. प्रधानमन्त्रीज्यूले हाल भइरहेको आन्दोलनलाई लक्षित गर्दै डा। गोविन्द केसी र उहाँको मुद्धालाई समर्थन गर्नुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु भन्ने अभिव्यक्ति दयनीय त छ नै आपत्तिजनक पनि छ । हामी स्मरण गराउन चाहन्छौं, लोकतन्त्र भनेको लाख मानिसले जुलुश गर्न पाउने अधिकार मात्र होइन, केवल एकजना व्यक्ति मात्रैले पनि न्यायको लागि आवाज उठाउँछ भने राज्यले त्यसलाई सुनुवाई गर्नु वास्तविक लोकतन्त्र । त्यसमा पनि डा। गोविन्द केसी केवल एकजना व्यक्ति मात्र नभई यतिबेला आम नेपालीले समर्थन गरिरहेका अभियन्ता हुनुहुन्छ । उहाँको न्यायोचित मागका पक्षमा उभिनुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु र राजनीतिक आग्रह राखेर डा। केसीलाई हेर्नु प्रधानमन्त्री पदको उचाई अनुरुपको स्वभनिय अभिव्यक्ति विल्कुलै होइन ।

२. डा। केसीले विगतमा गर्नु भएको अनसन र मागलाई सम्वोधन गर्ने क्रममा नेपाली कांग्रेसका तत्कालिन सभापति शुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले डा। केदारभक्त माथेमाको संयोजकत्वमा उच्च स्तरीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलको प्रतिवेदनमा आधारित रहेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको अघिल्लो सरकारले अध्यादेश जारी गरी डा। गोविन्द केसीले उठाउनु भएका मागहरु पुरा गरेको थियो ।

३. आजको मितिमा उत्पन्न भएको समस्या नेपाली कांग्रेस वा डा. केसीका कारण नभई सो अध्यादेशलाई उल्ट्याउनतर्फ ओली सरकार उद्धत भएका कारण उब्जिएको समस्या हो । सबैमा जगजाहेर नै छ ।

४. प्रष्ट भाषामा के प्रष्ट्याउन चाहन्छौ भनेः– डा। केसीको मागलाई सम्बोधन गरी उहाँको जीवन रक्षा गर्न पक्ष र प्रतिपक्ष दुबै ऐक्यवद्ध ढंगले गम्भीर हुन जरुरी छ । तर संसदलाई समेत छलेर सडकमा दमनको अस्त्र प्रयोग गर्ने सरकारलाई सच्चिनका लागि दवाव दिनु पर्नेमा उल्टै नेता दाहालले कांग्रेस माथि लासको राजनीति गरेको आरोप लगाउनु दुःखद छ ।

कांग्रेसले सत्तापक्षलाई हलुका टिप्प्णीबाट माथि उठेर देशमा उठिरहेको मुद्धाको समाधान तर्फ अगाडी बढ्न आग्रह गरेको छ ।