आर्थिक

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंकले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे ।

एनआइसी बैंक मुलुकभर २३३ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १७५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५० अर्ब पुगि निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. ११९ अर्ब सहित निजीक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।