बाग्मती

देशभर सवारी दुर्घटनामा कमी, उपत्यकामा वृद्धि

काठमाडौँ । आर्थिक वर्ष २०७४/७५ मा देशभर सवारी दुर्घटनाबाट दुई हजार ३१८ जनाको मृत्यु भएको छ ।
आव २०७४/७५ मा नौ हजार ९८९ सवारी दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष एक हजार ७१३, महिला ३६१, बालक १६० र बालिका ८४ छन् । यस्तै दुर्घटनामा तीन हजार ८०० जना गम्भीर घाइते र सात हजार ५१० सामान्य घाइते भएका छन् ।
ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनी आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा सवारी दुर्घटनामा कमी आएको बताउँछन् । उनका अनुसार आव २०७३/७४ मा दुई हजार ३८४ जनाको मृत्यु भएको थियो । आव २०७३/७४ मा १० हजार १७८ दुर्घटना भएको थियो ।

चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गह्रुँगो सामानका कारण बढी दुर्घटना हुने मरासिनीको भनाइ छ । काठमाडौँ उपत्यकामा १९४, पूर्व क्षेत्र ५१०, मध्यक्षेत्र ६६६, पश्चिम क्षेत्र ५६७, मध्यपश्चिम क्षेत्र २५१ र सुदूरपश्चिम क्षेत्रमा १५६ जनाको मृत्यु भएको छ । आव २०७२/७३ मा १० हजार १३ दुर्घटनामा दुई हजार छ तथा आव २०७१/७२ मा नौ हजार १४५ दुर्घटनामा दुई हजार चार जनाको मृत्यु भएको थियो । निर्देशनालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार ट्रयाक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ ।

उपत्यकामा दुर्घटना वृद्धि

ट्राफिक निर्देशनालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा सवारी दुर्घटना बढेको छ । आव २०७३/७४ मा १८२ मृत्यु भएकामा आव २०७४/७५ मा १९४ जनाको मृत्यु भएको छ । यस्तै आव २०७२/७३ मा १६६, आव २०७१/७२ मा १३३ र आव २०७०/०७१ मा १४३ जनाको मृत्यु भएको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउँछन् । “चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो”, उनी भन्छन्
दुर्घटनाको कारण

लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गरेका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् । पच्चीस प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने उनको भनाइ छ । यस्तै ७० प्रतिशत दुर्घटना घरको ४० किलोमिटर वरपर हुने गरेको छ ।

श्रेष्ठ तीव्र गतिलाई कम गर्न सके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउने बताउँछन् । “मादक पदार्थ सेवन गर्नेलाई (मापसे) रोक्न सके चार देखि २४ प्रतिशत कम हुनसक्छ”, उनी भन्छन् ।

काठमाडौँ उपत्यकामा हाल साना ठूला ११ लाख तथा देशभर झण्डै ३१ लाख सवारी साधन छन् । आर्थिक वर्ष २०७२÷७३ मा नेपालको कालोपत्रे सडकको लम्बाइ १२ हजार ८९८ किलोमिटर छ ।