पर्यटन/संस्कृति

बोलबम धाममा भक्तजनको भीड

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–ं १ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा आज भक्तजनको भीड लागेको छ ।

साउनको पहिलो सोमबार र एकादशी व्रतसमेत रहेकाले मन्दिरमा भक्तजनको भीड बढेको पुजारी चन्द्र नेपालले जानकारी दिए । ज्योतिर्लिङ्गमा बुटवल, भैरहवा, मणिग्रामलगायत क्षेत्रबाट सो धाममा भक्तजन पुगेका छन् ।

कृष्णपक्षदेखि श्रावण शुरु हुने भएकोले साउन ११ गते गुरुपूर्णिमादेखि श्रावण शुक्लपक्ष भदौ महिनाको १० गते ऋषितर्पणी (जनैपूर्णिमा ) सम्म एक महीना शिवजीलाई जलार्पण र रुद्राभिषेक गरिने बताइएको छ । पुजारी नेपालका अनुसार साउन शिवको प्रिय महीना भएकाले उनको पूजाआजा, आराधना, भजनकीर्तन गर्नाले रोगव्याधि नलाग्ने, संकट मोचन हुने र आयु लामो हुने धार्मिक विश्वास छ ।