पर्यटन/संस्कृति

शिवालयमा सोमबारे मेला शुरु

बर्दिवास । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले साउने मेलाको रौनक देखिन थालेको छ । साउन महिनाकोे आज पहिलो सोमबारबाट यहाँका शिवालयमा सो मेला शुरु भएको हो ।

बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरमा आज एकाबिहानैदेखि शिवको दर्शन गर्ने श्रद्घालुहरुको भीड लागेको छ । पूर्व–पश्चिम राजमार्गको टुटेश्वर चोकबाट आठ किलोमिटर जङ्गल क्षेत्र छिचोलेर पुग्नुपर्ने टुटेश्वरनाथ महादेव मन्दिरमा मेलाको पहिलो दिन नै आज हजारौँ श्रद्घालु पैदलयात्री बोलबम भन्दै हिँडेका छन् ।
यसैगरी जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव, सिद्घपुरस्थित सिद्घनाथ महादेव, मगरथानास्थित मङ्गलनाथ महादेव र गैढाभेटपुरस्थित धस्नेश्वर महादेव मन्दिर परिसरमा हजारौँ श्रद्घालुको भीड देखिएको छ ।

यसपालि सौरमास र चन्द्रमासको गणनामा चार चार वटा सोमबार परेका छन् । सौरमास र चन्द्रमास दुवैसँगै पर्ने सोमबार भने यसपालि तीन वटा मात्र परेका छन् । अहिले सौरमासले साउन भए पनि चन्द्रमासले भने आउने शनिबारबाट मात्र साउन शुरु हुनेछ । चन्द्रमासको साउन सौरमासको भदौ १० गतेसम्म रहनेछ ।
सामान्यतया शिव उपासकहरु दुवै मासमासँगै परेका सोमबारलाई धार्मिक मान्यताअनुसार उपासनाका लागि राम्रो ठान्दछन् । यद्यपि सौरमास वा चन्द्रमास दुवैको भोग समय फरक परे पनि शिव उपासकले यी सबै सोमबारमा व्रत र उपासना गर्ने गरेका बर्दिवास–२ का पुरोहित महेशकुमार झा बताउँछन् ।

साउन महिना र त्यसमा पनि सोमबार चाहिँ भगवान् शिवको मन पर्ने दिन भएकाले यस महिनाभरिका सोमबार भगवान् शिवको आराधना गरेर शिवालयमा दर्शन गर्न जाने मिथिला संस्कति बनेको छ ।
शिवपुराण र मिथिला माहात्म्यमा साउन महिनाको सोमबार शिवको आराधना गर्दै शिवलिङ्गमा जलफुल चढाउनाले पाप नाश भई मनवाञ्छित फल पाइनाका साथै देहत्यागपछि शिवलोकमा ठाउँ पाइने वर्णन रहेकाले शिवालयमा साउने मेला लाग्ने गरेको मिथिला संस्कृतिका जानकार जिल्लाको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिको भनाइ छ ।