प्रदेश 1

बालक अपहरण घटना अनुसन्धानमा

वीरगञ्ज । आन्तरिक मामिला तथा कानून गृहमन्त्री ज्ञानेन्द्र यादवले करीब दुई महिनाअघि जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुरबाट अपहृत नौवर्षीय अंकित साहबारे प्रदेश नं २ को सरकार गम्भीर रहेको बताए ।
गत जेठ २२ गते घरबाट खेल्न निस्केका बालक साह राति अबेरसम्म घर नआउँदा छोरा अपहरणमा परेको खबर बालकका बुबा ललनले पाई जीतपुर प्रहरीलाई जानकारी दिएका थिए । रासससँग टेलिफोनमा कुरा गर्दै मन्त्री यादवले अपहृत बालकलाई सकुशल ल्याउनेबारे प्रदेश सरकार गम्भीर रहेको र सो समस्या चाँडै समाधान हुने विश्वास व्यतm गरे । अपहरण घटना सम्बन्धमा प्रदेश नं २ को उच्च सुरक्षा निकायसँग व्यापक छलफल भइरहेको छ भन्दै मन्त्री यादवले बालकलाई कसरी सकुशल फिर्ता ल्याउने भन्नेबारे गृहकार्य भइरहेको बताए ।

अपहृत बालक नेपाल बाहिर रहेकाले उनलाई कुनै क्षति नहोस् भन्नेबारे प्रदेश सरकार गम्भीर छ भन्दै मन्त्री यादवले भने, “यो घटनाको करीब करीब नजिक पुगिसकेकोले चाँडै बालक साहलाई सकुशल उद्धार गरिने छ ।”
प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यले खेलिरहेको बालकलाई उठाउने मानिस पक्राउ परेको र थप अनुसन्धान भइरहेको जानकारी दिए। बारा प्रहरीले सो घटनामा सफलता हात पार्न नसकेपछि काठमाडौँबाट आएको अपराध अनुसन्धान टोलीले अनुसन्धान शुरु गरेपछि भारतको सिकटा बजारबाट यही साउन २ गते भारतीय प्रहरीको सहयोगमा दुई जनालाई पक्राउ गरी थुनामा राखी अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा प्रभाव पर्ने भएकाले ती दुईको नाम प्रहरीले गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक रञ्जीत सिंह राठोरले अहिलेसम्म अनुसन्धान भइरहे पनि सफलता भने प्राप्त हुन नसकेको बताए ।

प्रहरीलाई जानकारी नै नदिई अपहृत बालकका बुबा ललनले अपहरणकारीलाई रु १५ लाख फिरौती बुझाए पनि हालसम्म बालक अपहरणमुतm हुनसकेका छैनन । ललनसँग अपहरणकारीले शुरुमा रु एक करोड माग गरे पनि उनले भारतको बेतिया शहरको अज्ञातस्थलमा अपहरणकारीलाई रु १५ लाख बुझाएका थिए । अपहरणकारीले रकम हात पार्नेबित्तिकै मोबाइल स्वीच अफ गरेकाले हालसम्म सम्पर्क हुन सकेको छैन । सम्पर्क नहुँदा अपहृत बालकको अवस्था अज्ञात छ ।