पर्यटन/संस्कृति

दर्जन शिवालयमा जल चढाउनेको घुइँचो

भद्रपुर । आज साउनको पहिलो सोमबारका दिन झापाका दर्जनभन्दा बढी शिवालय मन्दिरमा बिहानैदेखि जल चढाउने दर्शनार्थीको घुइँचो लागेको छ ।

पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधाराधाम, कनकाई माई, कृष्णथुम्की, ॐकारेश्वर, पातालगंगालगायतका दर्जनभन्दा बढी शिवालय मन्दिरमा जल चढाउनेको भीड लागेको हो ।

साउनको पहिलो सोमबारसँगै आषाढ शुक्ल एकादशीसमेत परेका कारण बिहान ३ बजेदेखि नै यी मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

अन्य शिवालयभन्दा अर्जुनधारा मन्दिरमा भक्तजनको चाप बढी हुने हुँदा त्यहाँ ट्राफिक व्यवस्थापनको कामसमेत व्यवस्थित पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले बताए ।

विशेषगरी अर्जुनधारा, जलेश्वर, कनकाईलगायतका मन्दिरमा झापाका विभिन्न स्थानदेखि इलाम, पाँचथर, ताप्लेजुङ र छिमेकी मुलुक भारतको पानीट्याङ्की, खेरिबारी, नक्सलबाडीलगायत स्थानका भक्तजन शिवालयहरूमा भेला भएका छन् । ।