प्रदेश 2

सिरहामा एक हजार नयाँ उद्योग दर्ता

लहान । सिरहामा आर्थिक वर्ष २०७४/७५ मा एक हजार ११ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७४/७५ मा उत्पादनमूलक उद्योग २६०, सेवामूलक उद्योग ५५४ र कृषि तथा वनजन्य उद्योग १९७ नयाँ दर्ता भएका छन् । गत आवमा ८४२ नयाँ उद्योग दर्ता भएका थिए ।

जिल्लामा उत्पादन उद्योग एक हजार ३३८, कृषि तथा वनजन्य उद्योग ६६१ र सेवा उद्योग दुई हजार ७७० गरी घरेलु तथा साना उद्योगको संख्या चार हजार ७६९ पुगेको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख लक्ष्मी पौडेलले जानकारी दिए।

बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज रुपले ऋण लगानी गर्न थालेकाले जिल्लामा घरेलु तथा साना उद्योग दर्ता गराउने क्रम बढेको उनले बताए। आव २०७४/७५ मा ६१२ उद्योगको नवीकरण र नौवटा उद्योगको नामसारी गरिएको छ भने गत आवमा नयाँ उद्योग दर्ताबाट रु ५१ लाख ५३ हजार राजश्व संकलन भएको थियो ।