पर्यटन/संस्कृति

पीण्डेश्वर बोलबम–दर्शनार्थीको भीड

इटहरी । सुनसरीको धरानस्थित धार्मिक पर्यटकीय क्षेत्र प्राचीन हरिद्वार पीण्डेश्वर शिवालयमा आज साउनको पहिलो सोमबार हजारौँ हिन्दू भक्तजनको भीड लागेको छ ।
बेलपत्र धतुरोका दाना मह, ध्यू, दही आदिसमेत शिवालयमा चढाइ भगवान् शिवबाट आशीर्वाद प्राप्त गर्ने भक्तजनको शिवालयमा भीड लागेको हो । विगतमा झै साउन महिनाको पहिलो सोमबार परेकाले हजारौँ हिन्दू भक्तजनले स्थानीय तलाउ, कुवा, पोखरी वा धाराबाट जल उठाई पीण्डेश्वर शिवालयमा चढाइरहेका छन् ।
त्यस्तै काबरिया बोलबम तीर्थयात्रीले समेत बराहक्षेत्र र चतरास्थित कौशिकी तटमा स्नान गरी शुद्ध जल उठाएर पीण्डेश्वर शिवालयमा ल्याई चढाउने भक्तजनको पनि विशाल भीड रहेको पाइएको छ ।

प्राचीन हरिद्वार पीण्डेश्वर शिवालयमा जल अर्पणका लागि आउने हजारौँ स्थानीय तथा चतरा बराहक्षेत्रबाट जन उठाएर आउने काबरिया बोलबम भक्तजनलाई लामबद्ध जल चढाउन पालो मिलाउन सयौँ स्वयंसेवकसमेत परिचालन गरिनुका साथै स्वास्थ्य तथा सुरक्षा व्यवस्था मिलाइएको पीण्डेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

धरानका पीण्डेश्वर शिवालयसँगै सुनसरीका अन्य सम्पूर्ण शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी शुद्ध आत्माले जल उठाइ भगवान् शिवको मूर्तिमा अर्पण गर्ने र फूल प्रसाद चढाइ मनोकाङ्क्षा पूरा होस् भन्ने कामना गर्ने र चिताएको पूरा भएको खुशियालीमा मन्दिर गएर पूजापाठ गर्नेको पनि लामो ताँती लागिरहेको छ ।

चतरा कौशिकी तट र बराहक्षेत्रदेखि पहेलो बस्त्र धारण गर्ने काबरिया टोलीले पनि बिहान ५ बजेदेखि नै पैदल यात्रा तय गरी धरानमा आएर जल अर्पर्ण गरिरहेको र अन्य शिवालयमा पनि जल अर्पण गर्ने कार्य भइरहेको जनाइएको छ ।

आजै सोमबार ठूलो एकादशीसमेत परेकाले सम्पूर्ण हिन्दू नरनारीले घर घरमा तुलसी रोपेर भगवान् विष्णुको पूजापाठसमेत गरेका छन् ।