कृषि

डिएपी मलको अभाव

लहान । किसान धान रोपाइँमा ब्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल) को अभाव भएको छ ।

कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट आवश्यक मात्रामा मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ ।

धान रोपाइँको बेला मलखाद्यको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा मलको अभाव भएको कम्पनी लहानका प्रमुख चन्द्रप्रसाद चौलागाईले जानकारी दिए।

उनका अनुसार सिरहामा ३० हजार बोरा डिएपी चाहिएकोमा हाल दुई हजार ५०० बोरा मात्र डिएपी कृषि सामग्रीको गोदाममा छ । डिएपी मलको अभाव भए पनि युरिया मल पर्याप्त रहेको प्रमुख चौलागाईको भनाइ छ । डिएपी मलको अभावकै बीच कृषि सामग्री कम्पनी लिमिटेड लहानले आजबाट मलखाद्य वितरण शुरु गरेको छ ।

विभिन्न स्थानीय तहमा रहेको डिलर सहकारी संस्थालाई युरिया र डिएपी मल वितरण गर्न शुरु गरेको प्रमुख चौलागाईले बताए। डिलर रहेका सहकारी संस्थामार्फत कृषि सामग्री कम्पनीले गाउँगाउँका किसानलाई मलखाद्य बिक्री वितरण गर्दै आएको छ ।

पहिलो चरणमा १०० सहकारीलाई प्रतिसहकारी ३५ बोराका दरले उपलब्ध गराउने र थप मल आएपछि क्रमशः वितरण गर्ने क्रमलाई निरन्तरता दिने उनको भनाइ छ । कृषि सामग्री कम्पनीले डिएपी प्रतिबोरा रु दुई हजार १८८ र युरिया रु ७३८ का दरले सहकारी संस्थालाई बिक्री गर्दै आएको छ ।