पर्यटन/संस्कृति

पर्यटकीय क्षेत्र बेदकोटमा भ्यूटावर निर्माणको कार्य अन्तिम चरणमा

कञ्चनपुर । आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको कञ्चनपुरको प्राकृतिक बेतकोट ताल क्षेत्रमा भ्यूटावर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

ठेक्का प्रक्रियाद्वारा रु ७५ लाखको लागतमा दृश्यावलोकनका लागि छ तल्ले टावर निर्माणको कार्य भइरहेको छ । पाँच तले भ्यूटावर निर्माणका लागि नगरपालिकाले कूल लागतको ३० प्रतिशत र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७० प्रतिशत रकम व्यहोर्ने गरी रु ६० लाखमा भ्यूटावर निर्माणको कार्यलाई अगाडि बढाएको हो ।

नगरपालिकाको नगर सभाले एक तला थप बनाउनका लागि स्वीकृति प्रदान गरेपछि टावर निर्माणाको लागत रु ७५ लाख पुगेको छ । थप रु १५ लाख नगरपालिकाले व्यहोर्ने गरी टावर निर्माणको कार्य भइरहेको नगर प्रमुख अशोककुमार चन्दले बताए ।

निर्माणको कार्य दु्रत गतिमा अगाडि बढेकाले एक साताभित्रै टावर निर्माणको सबै कार्य पूरा हुने उनले बताए । टावर निर्माणपछि ताल क्षेत्रको दृश्यावलोकनसँगै तराई क्षेत्रको मनोरम दृश्य नियाल्न सकिने भएको छ ।

बेदकोट धार्मिक क्षेत्र जिल्ला सदरमुकाम महेन्द्रनगरबाट २२ किलोमिटर टाढा रहेको छ । यो क्षेत्र आन्तरिक पर्यटकका लागि वनभोग स्थलका रुपमा र बाह्य पर्यटकका लागि तराईको मनोरम दृष्य नियाल्नका लागि प्रख्यात रहेको छ ।

बेदकोट क्षेत्र बाह्य कोलाहलबाट टाढा रहेकाले एकान्तमा रम्न चाहनेका लागि गतिलो गन्तव्यका रुपमा रहेको छ । परापूर्वकालमा बनवासका क्रममा पाण्डवले यस क्षेत्रमा आएर बेदधुनि जगाएकाले यस क्षेत्रको नाम बेदकोट रहन गएको जनश्रुति रहेको छ ।

यो क्षेत्र प्राचीनकालमा ऋषिमुनिको तपोभूमिका रुपमा समेत परिचित रहेको छ । भ्यूटावरसँगै नगरपालिकाले बेदकोट तालको संरक्षणका लागि पर्खाल निर्माण, प्रवेशद्वार निर्माण, शौचालय, पिकनिकस्थलको सुधार र पर्यटकलाई जानकारी दिन सूचना केन्द्र भवन बनाइएका छन् ।