आर्थिक

व्यक्तिगत विवरण अद्यावधिक गर्न नेप्सेको आग्रह

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले शेयर कारोबारका लागि व्यक्तिगत विवरण अद्यावधिक गर्न शेयर लगानीकर्तालाई आग्रह गरेको छ ।

पूर्ण सञ्चालित अनलाइन कारोबार प्रणाली शुरु भइसकेको सन्दर्भमा नेप्सेले शेयर दलाल कम्पनीमा सम्पर्क गरी सो विवरण अद्यावधिक गर्न आज आग्रह गरेको हो ।

स्टकले यही साउन १ गतेदेखि अनलाइन कारोबार प्रणाली शुरु गरेको हो । आजसम्म सो प्रणालीमा ५० वटै दलाल कम्पनी आबद्ध भइसकेका छन् ।

नेप्सेले भनेको छ, “व्यक्तिगत विवरण अद्यावधिक गरी युजरनेम र पासवर्ड लिई अनलाइन कारोबार प्रणालीमा जोडिन आग्रह गर्दछौँ ।”

यो परीक्षण कारोबार भएकाले उपलब्ध गराइएको युजरनेम र पासवर्डमार्फत लगानीकर्ताले कारोबारको विवरण मात्र हेर्नसक्ने मात्रै व्यवस्था गरिएको छ । परीक्षण कारोबारका क्रममा सरोकार भएका व्यक्तिबाट प्राप्त भएको सुझावलाई नेप्से अनलाइन टे«डिङ सिस्टममा यथाशक्य समेटिने प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

शेयर बजार आज दोहोरो अंकले घटेको छ । स्टकका अनुसार आज कारोबार मापक नेप्से परिसूचक भने ११.७३ अंकले घटेर एक हजार १८१ बिन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।५६ बिन्दुले घटेर २४८.८६ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको छ लाख ६१ हजार २४६ कित्ता शेयर रु २१ करोड १२ लाख १३ हजार ८२८ मूल्यमा खरिद बिक्री भएको थियो ।

स्टकका अनुसार बैंकिङ ७.६६, होटल ३४.५७, विकास बैंक १३.४२,जलविद्युत् १३.७७, निर्जीवन बीमा ११०.७, उत्पादन ३.४१, अन्य ६.७१, माइक्रोफाइनान्स ३२.९३, बीमा ७०.२८ बिन्दुले घटेको छ भने वित्त क्षेत्र २.९९ बिन्दुले घटेको छ ।