पु.समाचार

प्रधानमन्त्रीलाई कांग्रेसको दबाबः कानुनमन्त्रीलाई तत्काल नियन्त्रणमा लिनुस

काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङ्ले दिएको अभिव्यक्तीको चौतर्फी आलोचना भईरहेका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि उक्त अभिव्यक्तीप्रति गम्भीर आपत्ती जनाएको छ । केहीं समययता चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा जारी वहस र आन्दोलनका क्रममा सत्ता पक्षधर केही व्यक्तिहरुबाट अभिव्यक्त आपत्तिजनक धारणालाई पार्टीले गम्भीर रुपमा लिएको नेपाली कांग्रेसले जनाएको हो ।

‘खासगरी वंगलादेशमा अध्ययन गरिसकेका र अध्ययनरत हाम्रा चेलीहरुको अस्मिता, सामाजिक प्रतिष्ठा र पारिवारिक मनोभावलाई हेक्का नराखी व्यक्त धारणाहरु अत्यन्तै निन्दनीय र आपत्तिजनक छन् । कांग्रेसद्वारा विज्ञप्तीमा भनिएको छ, एकजना व्यवसायीले मात्रै होइन, सरकारको मन्त्रीले समेत यस्तो अभिव्यक्ति राख्दा प्रधानमन्त्रीको मौनता झनै गम्भीर कुरा हो ।’

गैर जिम्मेवार अभिव्यक्तिहरुबाट छात्राहरु एवं तिनका माता पिता र परिवारजनमा पर्न गएको गहिरो चोटले मर्माहत तुल्याएको कांग्रेसले जनाएको छ । स्वयं प्रधानमन्त्रीबाट वेलावेला हलुका अभिव्यक्ति वाहिरिने गरेका भन्दैँ जिम्मेवार मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिमा कारवाही गर्ने कसले ? भनेर कांग्रेसले प्रश्न गरेको छ ।

छोरी चेलीलाई देवीका रुपमा मान्ने नेपाली संस्कार स्मरण गराउँदै यस्ता अभिव्यक्तिलाई तत्कालै नियन्त्रणमा लिने दायित्व फेरी पनि प्रधानमन्त्रीकै रहेको कांग्रेसले विज्ञप्तीमार्फत आग्रह गरेको छ ।

यसैबीच, कानुनमन्त्री तामाङले भने आफ्नो अभिव्यक्ती मिडियामा आएपछि एक विज्ञप्ती जारी गरेका छन् । उनले विज्ञप्तीमार्फत सार्वजनिक रुपमा माफी मागेका हुन् ।

‘विद्यार्थी भाइबहिनीहरुलाई सम्वोधन गर्ने विशेष सन्दर्भमा बोलिएको कुरा सञ्चार माध्यममा सम्प्रेषण भएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ ।’ उनीद्वारा जारी प्रेस वक्तब्यमा भनिएको छ, ‘बंगलादेशमा हाल २००० भन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत रहेको अवस्था छ । ती विद्यार्थीहरुले बंगलादेशमा भोग्नुपरेका केही समस्यालाई मैले उजागर गरेको हो ।’

कानूनमन्त्री शेरबहादुर तामाङले शुक्रबार एउटा सामान्य निजी स्कुलको कार्यक्रममा उक्त अभिव्यक्ती दिएका थिए ।