अन्तर्राष्ट्रिय

‘व्यापार युद्धले कसैलाई राम्रो गर्दैन’

पेरिस । फ्रान्सेली अर्थमन्त्री ब्रुनो ले मायरले युरोपेली देशहरु र अमेरिकाबीचको व्यापार युद्ध जारी नै रहेकोले यसले विश्वको अर्थतन्त्रमा नै नकारात्मक असर पार्ने बताएका छन् ।

उनले अहिले आएर यो एउटा वास्तविकता भइसकेको बताउँदै भन्नुभएको छ– कोही पनि तलमाथि नगर्ने र अहिलेकै अवस्थाबाट अघि बढ्ने हो भने यसले कसैलाई पनि राम्रो नगर्ने बताए ।

ठूलो अर्थतन्त्र भएका विश्वका २० देशका अर्थ तथा वित्त मन्त्रीहरूको शिखर बैठकको तयारी भइरहँदा उनको यो भनाई आएको छ । अमेरिकाले एकतर्फी रुपमा कर लगाउदा नै यो समस्या भएको उनको भनाई थियो ।

अमेरिकाले लिएको व्यापारको वर्तमान नीति एउटा मिचाहा प्रवृत्तिको भएको र यसलाई सभ्य नभएर जङ्गली कानूनका रुपमा हेर्नुपर्ने आरोप उनले लगाएका थिए ।

अर्थमन्त्री मायरले विश्वमा अहिलेको अवस्था झनै सौहार्द हुनुपर्ने व्यापार यस्तो एकतर्फी र निरङ्कुस पाराको हुनसक्दैन र कुनै पनि देशले आफैले आफू अनुकुलको कानुन बनाएर एकतर्फी रुपमा कर वृद्धि गर्न पनि पाउँदैन भने ।

तर अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले भने अमेरिकाले लिएको वर्तमान कर नीतिको बचाउ गरेका थिए । उनले युरोपेली संघ र चीनलाई स्वतन्त्र प्रतिस्पर्धाका लागि बजार खुल्ला राख्न आग्रह पनि गरेका थिए ।

यस नीतिको कडा रुपमा बचाउ र प्रतिवाद गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि अमेरिकाले चाहेको स्वतन्त्र र समृद्ध व्यापारका लागि युरोपेली संघ एउटा अस्थिरता भएको गत हप्ता मात्र बताएका थिए ।

राष्ट्रपति ट्रम्पले चीनबाट अमेरिका पुग्ने कम्तीमा पनि ५०० अर्ब डलर बराबरका सबै सामानमा अहिलेकै नीति बमोजिम नै थप कर लगाउने चेतावनी पनि दिएका थिए ।

उनको यो अभिव्यक्तिपछि युरोपेली संघ र अमेरिका तथा चीनबीच पछिल्लो समयमा शुरु भएको व्यापार युद्धले थप वैधानिकता पाएको धारणा राखेको समाचारमा जनाइएको छ ।

चीन र युरोपेली संघ दुवैसँगै अमेरिकाले ठूलो व्यापार घाटा ब्यहोर्दै आएको बताएको छ । हाल युरोपेली संघमा २७ ओटा युरोपेली देशहरु सदस्य रहेका छन् ।

अर्जेन्टिनाको बेनोस आइरिजमा आयोजना गर्न लागिएको वार्ताका लागि ठूलो अर्थतन्त्र भएको विश्वका २० देशका अर्थमन्त्री, वित्तमन्त्री र बैंकरहरु भेला हुने भएका छन् ।

युरोपेली संघ आबद्ध देशहरु र चीनले अमेरिकाले स्टील र एलुमिनियममा लगाएको कर फिर्ता लिन बारम्बार आग्रह गर्दै आएका छन् । युरोपेली संघले त यो नयाँ कर फिर्ता नलिएसम्म युरोपेली युनियनले अमेरिकासँग स्वतन्त्र व्यापारका विषयमा वार्तामा पनि नबस्ने अडान लिँदै आएको छ ।

तर अमेरिकाले भने युरोपेली संघ र चीनसँग यस विषयमा नझुक्ने बताएको छ । उसले पछिल्लो करको बारेमा कुनै छलफल पनि गर्न नचाहेको बताएको छ । अमेरिकाले युरोपेली संघ, मेक्सिको, क्यानडा र चीनबाट गरिने स्टील र एलुमिनियमको आयातमा नयाँ तर बढी करहरू लागू गरेको छ ।

उसले स्टीलको आयातमा २५ प्रतिशत र एलुमिनियमको १० प्रतिशत कर लगाएको हो । अमेरिकाको उक्त कदमबाट युरोपमा रहेका कतिपय अमेरिकी साझेदारहरू प्रभावित भएको हुन् ।

यस कदमको युरोपेली संघ, चीन, मेक्सिको र क्यानाडाले पनि विरोध गर्दै आएका छन् । साथै उनीहरुले अमेरिकाको यस कदमको बदलामा आफूहरूले पनि कदम चाल्ने बताएका छन् ।

सोही विरोधस्वरुप कतिपयले सामान अमेरिका निर्यात गरेका छैनन् भने कतिले अमेरिकाको सामान पनि आयात गरेका छैनन् ।

विश्वका आर्थिक क्षेत्रका कतिपय सरोकारवालाहरुले भने यो अवस्थाले विश्वको अन्य क्षेत्रको अर्थतन्त्रमा पनि असर पर्ने भएकोले पछिल्लो यो असहमतिलाई व्यापार युद्धका रुपमा अघि बढ्न दिन नहुने बताउँदै आएका छन् ।