प्रदेश 1

छब्बीस द्वन्द्वपीडित परिवारले ५२ लाख राहत पाए

तेह्रथुम । १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले रु ५२ लाख राहत पाएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २६ परिवारले रु ५२ लाख पाँच हजार ७०० रकम राहत पाएका हुन् । जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको स्थानीय शान्ति समितिले रु ५२ लाख पाँच हजार ७०० राहतस्वरुप वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । जसमध्ये बेपत्ता पारिएका दुई परिवारलाई रु १४ लाख वितरण गरिएको छ ।

यस्तै मृतकका परिवार छ जनालाई रु २३ लाख र विस्थापित हुने २० परिवारलाई रु १५ लाख पाँच हजार ७०० वितरण गरिएको स्थानीय शान्ति समिति तेह्रथुमका सचिव तुलसी रिमालले बताए । विगतमा राहत रकम प्राप्त गर्न छुटेका र अपुग रकम मात्रै लिएकाको आवेदन लिएर राहत वितरण गरिएको हो ।

जिल्लाका द्वन्द्वपीडितका लागि रु ६४ लाख बजेट उपलब्ध भएकोमा यो वर्ष पनि तेह्रथुमका द्वन्द्वपीडितका लागि आएको रु ११ लाख ९५ हजार खर्च नभई फिर्ता गएको छ ।