राजनीति

अध्यक्ष वैद्यद्वारा डा केसीसँग भेट, गरे अनशनलाई समर्थन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले आज शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेटी उहाँको स्वास्थ्यबारे जानकारी लिएका छन् ।

अध्यक्ष वैद्यले डा केसीलाई भेटी उहाँको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको बताएको डा केसीका सहयोगी विशद् दाहालले राससलाई जानकारी दिए ।

साँझ अस्पताल पुगेका उनले डा केसीलाई आफ्नो स्वास्थ्यको ख्याल राख्नपनि आग्रह गरेको दाहालले बताए।

चिकित्सा शिक्षा क्षेत्रको माग राखेर डा केसी १५ औँ पटकको २२ दिनको आमरण अनसनमा हुनुहुन्छ ।

असार १६ मा जुम्लामा अनसन शुरु गरेका डा केसीलाई सरकारले गत बिहीबार काठमाडौं ल्याएपनि उहाँले कुनै पनि स्वास्थ्य परीक्षण गराउन र औषधि लिन अस्वीकार गर्दै आउनुभएको छ ।

साधारण स्लाइन मात्र लिने बताएपछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र कुनैपनि समयमा अप्ठेरोमा पर्न सक्ने बताइएको छ ।