राजनीति

ओली सरकारले अधिनायकवादी चरित्र नत्यागे आन्दोलनको आँधीबेहरी आउछः नेपाली कांग्रेस

काठमाडौं । सरकारद्वारा शान्तिपूर्ण जुलुसमाथि वानेश्वरमा भएको अन्धाधुन्द आक्रमणलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको छ । नेपाल तरुण दलको नेतृत्वमा माइतिघर मण्डलाबाट प्रारम्भ भएको जुलुस नयाँ वानेश्वरमा पुगेपछि एकाएक भएको आक्रमणबाट नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, केन्द्रीय सदस्य महेन्द्र यादव लगायत ४ दर्जनभन्दा बढी घाइते भएका कांग्रेसले जनाएको छ ।

प्रहरी दमनको लगत्तै सभापति शेरबहादुर देउवा एवं नेता रामचन्द्र पौडेलले अस्पताल पुगेर घाइतेहरुको स्थिति बुझेका छन् ।

एकातर्फ संसदलाई छलेर ८ दिनपछि सार्ने अनि अर्कातर्फ सडकको प्रदर्शनमा पनि दमन गर्ने सरकारका विरुद्ध झनै एकतावद्ध ढंगले उभिनुपर्ने आवश्यकता कांग्रेसले औल्याएको छ ।

नेपाली कांग्रेसको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान भएको कांग्रेसको भनाई रहेको छ । त्यसलाई हुबहु विधेयकका रुपमा ल्याउनु नै डा गोविन्द केसीले जारी राखेको अनसनको समाधान भएको कांग्रेसले जनाएको छ । अनशनको तेस्रो साता पूरा भैसक्दा पनि वार्ता मार्फत समाधान खोज्ने र उनको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नहुनुलाई अत्यन्तै गैर जिम्मेवार प्रवृत्ति ठहर गर्दै काग्रेसले घोर भत्र्सना गरेको छ ।

कांग्रेसले चिकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा पार्टीको आन्दोलन जारी रहेको र रहने बताएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सरकार आफ्नो रवैया रुपान्तरित गरेर तत्कालै समाधान खोज्नतर्फ नलागे अधिनायकवाद उन्मुख शैलीका विरुद्ध अझ प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा झेल्नु पर्ने चेतावनी दिन्छौँ ।’