प्रदेश 1

मजदूर नेताको स्मृतिमा सम्मान

भद्रपुर । मजदूर नेता डिल्ली गौतमको २५ औँ स्मृति दिवसमा शुक्रबार कनकाई नगरपालिकामा भएको कार्यक्रममा सो क्षेत्रका एसइई परीक्षामा ए प्लस नतिजा ल्याउन सफल १७ जनालाई नगदसहित पुरस्कृत गरिएको छ ।

डिल्ली गौतम स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उनीहरुलाई प्रदेश नं १ सरकारका संघीय मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रतिव्यक्ति रु एक हजारसहित सम्मान गर्दै गौतमलाई राज्यका तर्फबाट शहीद घोषणा गर्न प्रक्रिया अघि बढाइसकिएको बताए ।

विसं २०५० साल जेठ ३ गते तत्कालीन नेकपा (एमाले) पार्टीका महासचिव मदन भण्डारी र नेता जीवनाथ आश्रितको मृत्युपछि घटनाको सत्यतथ्य छानवीन गरी दोषीलाई कारवाहीको माग गर्दै झापाको दमकमा गरिएको विरोधसभामा प्रहरीले गोली हान्दा गौतमको मृत्यु साउन ४ गते भएको थियो । उनकै स्मृतिमा १० महिलासहित ६९ जनाले रक्तदान गरेको प्रतिष्ठानका अध्यक्ष रवीन्द्र लम्सालले बताए ।