राजनीति

डा केसीसंगको भेटपछि सभापति देउवा भन्छन्, ‘ओली सरकारले गोबिन्द केसीका माग पुरा गर्नुपर्छ’

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज शिक्षण अस्पताल महाराजगञ्ज पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सो अवसरमा उनले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गरी उहाँको जीवनरक्षाका लागि सरकारसँग माग गरे ।

सभापति देउवाले लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुने बताउँदै डा केसीका माग जायज छन् र उनका पछाडि हामी लाखौँ जनता रहेको प्रतिक्रिया पनि दिए ।

त्यसैगरी काँग्रेसका नेता अर्जुननरसिंह केसी र राजपाका नेता महेन्द्रराय यादव, राजकिशोर यादव, अनिल झा तथा रमेश यादवले पनि अस्पताल पुगी डा केसीको स्वास्थ्य अवस्थावारे जानकारी लिए ।

यता डा केसीको स्वास्थ्य अवस्था भने गम्भीर बन्दै गएको र कुनै पनि समयमा आकस्मिक समस्या आउन सक्ने बताइएको छ ।

डा केसीका तर्फबाट वार्तासमितिका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले वार्ताका सम्बन्धमा सरकारका तर्फबाट आज कुनै पनि जानकारी नआएको बताए।

चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनको मर्मअनुसारको अध्यादेश आउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारका माग राख्दै डा केसीले जुम्लाबाट आमरण अनशन शुरु गरेका थिए ।

स्वास्थ्य जोखिममा पर्नेसक्ने भन्दै सरकारले हिजो हेलिकप्टरमार्फत डा केसीलाई काठमाडौँ ल्याएको थियो । हाल उनी १५ औँ पटकको २० औँ दिनको अनशन शिक्षण अस्पतालमा छन् ।

जुम्लाबाट काठमाडौँ आएपछि डा केसीले सरकारले माग सम्बोधन नगर्दासम्म स्वास्थ्य जाँच नगर्ने, औषधि पनि नलिने र साधारण स्लाइन मात्र लिने घोषणा गरेका छन् ।