स्वास्थ्य

सरकारी उपचार कोषबाट १९४ जना लाभान्वित

बागलुङ । सरकारले बनाएको ‘विपन्न नागरिक औषधि उपचार कोष’बाट गत आवमा यहाँका एक सय ९४ जनाले आर्थिक सहायता पाएका छन् । स्वास्थ्य मन्त्रालयले तोकेबमोजिम कडा रोगबाट पीडित विपन्न नागरिकलाई आर्थिक सहायता दिइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

उपचारमा लागेको खर्चमध्ये बढीमा रु एक लाखसम्म उक्त कोषबाट दिन सकिने व्यवस्था छ । क्यान्सर, मिर्र्गौलामा असर, मुटुरोग, पार्किन्सन/अल्जाइमर्स र स्पाइनल तथा हेड इन्जुरीका पीडितले मात्र कोषबाट सहायता पाउँछन् । आव ०७४/७५ मा आर्थिक सहायता पाउनेमा सबै भन्दा बढी क्यान्सरबाट पीडित १०२ जना छन् ।

त्यस्तै मुटुरोगी ५० जना, मिर्र्गौला सम्बन्धी रोग लागेका ३२ जना, स्पाइनल इन्जुरीका ६ र हेड इन्जुरी भएका चार जनाले कोषबाट लाभ लिएका हुन् । कोषको निर्देशिकामा उल्लेख भएका र मन्त्रस्तीय निर्णयबाट तोकिएका अस्पतालबाट मात्रै उक्त सेवा प्रदान हुने गरेको छ ।

कोषबाट आर्थिक सहायता लिन बिरामीलाई प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको जिल्लास्तरीय सिफारिस समितिले सम्बन्धित अस्पतालमा सिफारिस गर्नुपर्ने र ती अस्पतालले गरेको रोग पहिचानको प्रमाणपत्र, वडाले दिने विपन्नताको सिफारिस, बिरामी या आफन्तको हस्तलिखित निवेदन, नागरिकताको प्रमाणपत्र पेश गरेको आधारमा समितिले सिफारिस गर्ने गरेको छ ।

उपचारमा लाग्ने खर्चमध्ये बढीमा रु एक लाखसम्मको उपचार निःशुल्क हुने समितिका सदस्य एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक तिवारीले बताए । उनका अनुसार निःशुल्क उपचार गरेको रकम स्वास्थ्य मन्त्रालयले अस्पताललाई शोधभर्ना गर्ने गरेको छ ।

मिर्गौला प्रत्यारोपण नै गर्नुपर्ने बिरामीलाई भने रु दुई लाखसम्म आर्थिक सहायता उपलब्ध हुने गरेको छ । मिर्गौला प्रत्योरापण गरेका बिरामीलाई औषधिबापतको उपचार खर्च भनेर छुट्टै रु एक लाख दिने व्यवस्था छ ।

‘आर्थिक अभावमा उपचारबाट वञ्चित व्यक्तिलाई कोषले ठूलो राहात मिलेको छ,’ प्रशासक तिवारीले भने, “कोषको प्रचारप्रसारले सेवा लिनेको संख्या वर्षेनी बढ्दो छ ।” उनका अनुसार कोषबाट गत आवमा जिल्लाका विपन्न नागरिकलाई रु दुई करोड भन्दा बढी आर्थिक सहायता उपलब्ध भएको छ । कोषबाट आउने रकमले जटिल रोगमा सबै उपचार सम्भव नभएपछि राज्यले विपन्न नागरिकको उपचारमा ठूलो खर्च गरेको छ ।

सरकारले तोकेका अस्पतालमा मात्रै विपन्न नागरिक कोषबाट आर्थिक सहायता लिन सकिन्छ । क्यान्सरका लागि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायतका अस्पताल तोकिएको छ । त्यस्तै मिर्र्गौला रोगको उपचारका लागि पनि वीर अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, मुटुरोगको लागि वीर अस्पताल, सहित गंगालाल हृदयरोग केन्द्रलगायत अन्य रोगका लागि पनि विभिन्न अस्पताल तोकिएका छन् ।