समाचार

अध्यक्ष दाहाल र अमेरिकी राजदूत एलाइना बिच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिजले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाएका राजदूत टेप्लिजले अध्यक्ष दाहालसँग बिदाइ भेट गरेका हुन् । अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भने, “तपाईंको कार्यकाल सफल भएको छ । नेपालको विकास र प्रगतिमा तपार्इंले खेलेको भूमिका सकारात्मक रह्यो ।”

अध्यक्षले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायित्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

उनले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे । नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमूना रहेको समेत अध्यक्ष दाहालको भनाइ थियो ।

राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रियालगायतका ठूला ठूला चुनौतीमा नेतृत्वदायी भूमिका खेलेकामा अध्यक्ष दाहालको प्रशंसा गरे । उनले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गरे ।