सुदूरपश्चिम

मुक्त हलियाको रकम हिनामिना गरेको उजुरुमा छानबिन

डडेल्धुरा । डडेल्धुरामा रहेका मुक्त हलियाका रकम हिनामिना भएको भन्दै जिल्ला प्रशासनमा परेका उजुरीका बारेमा छानबिन गरिने भएको छ ।

मालपोत कार्यालय डडेल्धुराका कर्मचारीले मुक्त हलियाबाट खाएको रकम फिर्ता गरेपछि उजुरी गर्नेको संख्या बढेको जिल्ला प्रशासनले जनाएको छ ।

मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयन भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको आर्थिक अनियमितता प्रकरणको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ ।

मुक्त हलिया पुनःस्थापना कार्यक्रमका लाभान्वित व्यक्तिहरुले जग्गा खरिद, घर मर्मत र घर निर्माणका लागि प्राप्त अनुदान रकममा घुस मागेको भन्दै मुक्तहलियाहरुले उजुरी दिन थालेका हुन् ।

मालपोत कार्यालय डडेल्धुराका कर्मचारी, राष्ट्रिय हलिया मुक्ति समाज महासंघ सम्बद्ध व्यक्तिहरुका नाममा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन थालेका हुन् । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रारम्भिक छानबिन गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा प्राप्त लिखित तथा मौखिक उजुरीका आधारमा घुस लिएका व्यक्तिसँग स्पष्टीकरण माग गरी ठाडो बयान लिएर थप कारवाहीका लागि अख्तियारमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । मुक्त हलियाबाट विभिन्न बहानामा रु २० हजारदेखि ५६ हजार घुस लिइएको उजुरीमा उल्लेख गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत प्राप्त उजुरी र अन्य सूचनाका आधारमा सो प्रकरणको विस्तृत छानविन भइरहेको बताए। अनुसन्धानमा सबैको सहयोग पाइएमा दोषीहरु नउम्किने उनको भनाइ छ ।

मुक्त हलियाका नाममा प्राप्त अनुदान रकममा कमिसन लिएको प्रकरणमा निकै नाटक भइरहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । घुस खाएको भन्दै किटानी उजुरी गरेका व्यक्तिहरु उजुरी फिर्ता लिन आग्रह गर्दै पुनः निवदेन दिन थालेका प्रमुख जोशीले जानकारी गराए ।

डडेल्धुरा जिल्लामा कूल दुई हजार ५५१ जना मुक्त हलिया छन् । जसमध्ये एक हजार ८९५ जना प्रमाणीकरण भइसकेका छन् । मुक्त हलिया परिवारलाई जग्गा खरिदका लागि रु दुई लाख, घर मर्मत सम्भारका लागि रु एक लाख २५ हजार र घर निर्माणका लागि रु तीन लाख २५ हजार अनुदान उपलब्ध गराइने मालपोत कार्यालय डडेल्धुराले जनाएको छ ।

आर्थिक वर्ष २०७१/७२ बाट कार्यान्वयन भइरहेको मुक्तहलिया पुनःस्थापना कार्यक्रममार्फत पहिलो वर्ष घर निर्माणका लागि २८, घर मर्मतसम्भारका लागि २० र जग्गा खरिदका लागि १५ जनाले अनुदान प्राप्त गरेका थिए भने आव २०७२/७३ मा जग्गा खरिदका लागि १५, घर निर्माणका लागि ३० र घर मर्मतका लागि ४० जनाले अनुदान प्राप्त गरेका थिए ।

यसैगरी आव २०७३/७४ मा जग्गा खरिदका लागि ६८, घर निर्माणका लागि २३ र घर मर्मतका लागि ७२ जनाले अनुदान प्राप्त गरेका थिए ।