राजनीति

देउवा सरकारले जारी गरेको अध्यादेश विपरीत विधेयक ल्याउनु ओली सरकार अधिनायकवाद उन्मुख: काँग्रेस

काठमाण्डौ । जुम्लामा भएको बिहीबारको सरकारी दमन तथा संसद छल्ने गरी बैठकलाई ८ दिन पर सारिएको विषयलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको छ । चिकित्सा शिक्षा सुधारका लागि नेपाली कांग्रेसको सरकारले जारी गरेको अध्यादेश भन्दा विपरीत विधेयक ल्याउने तर्फ सरकार लाग्नु र क्रमशः अधिनायकवाद उन्मुख शैली विकसित हुँदै गएका कारण स्थिति जटिल बन्दै गएको काँग्रेसको निष्कर्ष छ ।

डा. के.सी.को जीवन रक्षा गर्नु हामी सबैको दायित्व हो, तर उपचारका लागि काठमाडौं ल्याउने क्रममा जुम्लाको अस्पतालमै प्रहरी प्रवेश गरेर लाठी चार्ज गर्ने, अश्रुग्यास प्रहार गर्ने, अस्पतालको लाखौंको सम्पत्तिमा क्षति पु¥याउने जस्ता सरकारको दमनकारी कार्यको नेपाली कांग्रेस भत्र्सना गर्दछ । चिकित्सक, नर्स, विद्यार्थी एवं कैयन सर्वसाधरण प्रहरीको आक्रमणबाट घाइते भएका छन् । हामी यो घटनामा घाइते हुनेहरुको स्वास्थ्यलाभको कामना गर्दछौँ, काँग्रेसले दुःख ब्यक्त गरेको छ ।

जुम्लामा गम्भीर घटना भइरहँदा डा. के.सी. को माग सम्बोधन गर्नुको साटो प्रतिपिक्षीसँग परामर्श गर्ने परम्परा विपरीत प्रतिनिधि सभा बैठक स्थगित गर्ने सरकारको गैर जवाफदेही क्रियाकलापप्रति काँग्रेसले खेद प्रकट गरेको छ । समाधानको खोजी गर्ने थलो संसदलाई छलेर विषयलाई विषयान्तर गर्न सकिने भ्रमबाट मुक्त हुन समेत नेपाली कांग्रेस सरकारलाई सचेत गराउन चाहन्छ, काँग्रेसले भनेको छ ।

डा. गोविन्द के.सी.को जीवन रक्षा र अध्यादेशको हुबहु कार्यान्वयन गर्न सदन र सडकमा नेपाली कांग्रेसको विरोध जारी रहनेछ । सरकारको यस्ता गैर जिम्मेवार रवैयाको विरोधमा बढ्दो जनसमर्थन आगामी दिनमा अझ घनीभूत हुने पनि विश्वास गर्दछौँ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।