बाग्मती

उत्कृष्ट वन समूह पुरस्कृत

त्रिशूली, नुवाकोट । जिल्ला वन कार्यालयले जिल्लाभरका सामुदायिक र निजी वनमध्ये राम्रोसँग संरक्षण र व्यवस्थापन गर्ने वन समूहलाई पुरस्कृत गरेको छ । कार्यालयले आज विदुरमा कार्यक्रम गरी चारवटा सामुदायिक वन र तीन जना निजी वन सञ्चालकलाई नगदसहित पुरस्कृत गरेको हो ।

सामुदायिकतर्फ विदुर नपा–८ माझीगाउँको माझीगाउँ सामुदायिक वन उपभोक्ता समूह पहिलो, विदुर नपा–११ को कालिकास्थान महिला वन उपभोक्ता समूह दोस्रो, किस्पाङ गाउँपालिका–४ को कन्यास्थान सामुदायिक वन समूहलाई तेस्रो र शिवपुरी गाउँपालिका–४ को गंगादेवी सामुदायिक वनलाई सान्त्वना पुरस्कार प्रदान गरेको छ । पहिलो हुनेलाई रु आठ हजार, दोस्रोलाई रु छ हजार, तेस्रोलाई रु चार हजार र सान्त्वनालाई रु दुई हजार नगदसहित पुरस्कृत गरेको हो ।

यस्तै निजी वनतर्फ किस्पाङ गाउँपालिका–१ का घलेलाई रु पाँच हजारसहित पहिलो, पञ्चकन्या गाउँपालिका–५ का रघुवीर तामाङलाई रु पाँच हजारसहित दोस्रो र म्यागङ गाउँपालिका–४ का वाङदोर्जे तामाङलाई रु तीन हजारसहित तेस्रो पुरस्कार प्रदान गरिएको जिल्ला वन अधिकृत पदमराज नेपालले जानकारी दिए ।

जिल्लामा वनको संरक्षण, व्यवस्थापनको कामको मूल्यांकन गरी उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरिएको प्रमुख नेपालले बताए । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले पुरस्कार वितरण पछि जिल्लामा वन संरक्षणको काम चुनौतीपूर्ण रहेकाले यसरी राम्रो काम गर्नेलाई पुरस्कृत गर्दा वन संरक्षणमा सहयोग पुग्ने बताए । जिल्लामा ३५० सामुदायिक वन, १८ निजी वन र तीनवटा धार्मिक वन रहेको छ ।