स्वास्थ्य

यस्तो कारण देखाउदैँ गोविन्द केसी काठमाडौँतिर !

काठमाडौं । बिसौँ दिनदेखि जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसी काठमाडौँ जान तयार भएका छन् ।

डा केसीले आजै जुम्लामा पत्रकार सम्मेलन गरी आफ्ना समर्थकहरु कुटिएको र प्रतिष्ठानमा ठूलो क्षति पुगेको कारण देखाउँदै काठमाडौँ जाने निर्णय सार्वजनिक गरेका छन् । काठमाडौँ भने सरकारको हेलिकोप्टरमार्फत नजाने र त्यहाँ पुगे पनि सत्याग्रह जारी राख्ने उनले जनाए ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक खगराज बराल नेतृत्वको टोली डा केसीको स्वास्थ्य स्थिति बुझ्न आज बिहान ११ बजे जुम्ला पुगेको थियो । जुम्ला पुगेको संघीय सरकारको वार्ता टोली र कर्णाली प्रदेश सरकारलाई आन्दोलनकारीहरुले असहज अवस्था सृजना गर्दा वार्ता हुन सकेन ।

डा केसीका समर्थक र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले मुख्यमन्त्रीसहित सरकारी वार्ता टोलीलाई अवरोध गरी तोडफोड शुरु गरेपछि केही समय जुम्लाको स्थिति असामान्य बन्यो । स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तोडफोडका क्रममा एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।