बाग्मती

महानगरको निर्णयविरुद्ध मजदुर

चितवन । भरतपुर महानगरपालिकाले यही साउन ५ गतेदेखि तीन पांग्रे (अटो र ई–रिक्सा) लाई राजमार्गमा चलाउन रोक लगाउने निर्णय गरेपछि मजदुर संगठन आन्दोलित भएका छन् ।

महानगरको सो निर्णयविरुद्ध अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल विद्युतीय रिक्सा श्रमिक संघ, नेपाल अटो रिक्सा श्रमिक संघ र नेपाल यातायात स्वतन्त्र मदुर संगठन अटो ई–रिक्सा युनियनले संयुक्तरुपमा आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरुले आज यहाँ पत्रकार सम्मेलन गरी तीनबुँदे माग राख्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । तीनपांग्रे सवारी साधनको जिल्लाभरिको नयाँ आउने बाटो इजाजत पत्र (रुट परमिट) बन्द गर्नुपर्ने, मुख्य राजमार्गको किनाराको एक लेन तीन पांग्रे सवारी साधन सञ्चालनमा ल्याउने वातावरण मिलाइनुपर्ने र बजारको विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत आज जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगरपालिका र विभिन्न राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने, शुक्रबार विरोधस्वरुप तीनपांग्रे सवारीको ¥याली निकालिने र सोही दिन केन्द्रीय बस टर्मिनलमा कोणसभा गरिने अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष सुमन भुजेलले बताए ।

यस्तै शनिबार महानगरले तीन पांग्रे सवारी साधन रोक लगाउने निर्णयको अवज्ञा गर्ने कार्यक्रम छ । मजदुरको आन्दोलनमा नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघ र टे«ड युनियन महासंघ (जिफन्ट) ले ऐक्यबद्धता जनाएका छन् ।

भरतपुर महानगरले भने साउन ५ गतेबाट पूर्व–पश्चिम लोकमार्ग, बाइपास सडक र नारायणगढ–मुग्लिन सडक खण्डमा बाटो काट्नबाहेक तीनपांग्रे सञ्चालनमा पूर्णरुपमा रोक लगाइने जनाएको छ ।