उर्जा

मापदण्ड बनाएर मात्रै कर्मचारीको सरुवा गर्न मन्त्री पुनको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्मचारी सरुवा र खटनपटनका लागि मापदण्ड बनाएर मात्र प्रक्रिया अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयका सचिव र मातहतका विभागका प्रमुखलाई सरुवाको मापदण्ड बनाउन र मनलाग्दी तवरले कुनै पनि निकायका कर्मचारीको सरुवा नगर्न निर्देशन दिएका हुन् ।

मन्त्री पुनले सरुवामा मापदण्ड बनाएर लागू, गर्न, योग्य व्यक्तिलाई उचित जिम्मेवारी दिन तथा सही व्यक्ति सही पदको नीति लागू गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री पुनले आज मन्त्रालय मातहतका सबै प्रमुख तथा पदाधिकारीलाई बोलाएर उक्त निर्देशन दिएको उनका सचिवालयले जनाएको छ ।

“मापदण्ड तयार भएपछि पूर्वअनुमानयोग्य हुन्छ । वस्तुपरक आधार पनि बन्छन् । कर्मचारीले पनि समान अवसर पाउने वातावरण निर्माण हुन्छ ।” उनले भने ।

मन्त्री पुनले भनसुनका आधारमा काम गर्नेभन्दा पनि प्रणालीले काम गर्ने खालको वातावरण बनाउन तथा अनुचित लाभ र दबाब दिने काम जो कोहीले गरे पनि आफूलाई जानकारी गराउन र त्यस्तो कार्य गर्नेलाई कानूनअनुसार कारबाही गर्न निर्देशन दिएका छन् ।

मापदण्ड बनाएर गर्ने सरुवाले कर्मचारीलाई पनि थप उत्प्रेरित गर्ने र सबै कर्मचारीको क्षमताको वृद्धि विकासमा समेत सहयोग पुग्ने मन्त्री पुनको भनाइ छ ।