बाग्मती

आँखाको तालीम केन्द्र निर्माण गरिने

चितवन । नेपाल नेत्रज्योति संघ भरतपुरले यहाँ अन्तर्राष्ट्रियस्तरको आँखाको तालीम केन्द्र निर्माण गर्ने भएको छ । भरतपुर महानगरपालिका–१० स्थित भरतपुर हाइटमा संघको एक बिगाहा सात कट्ठा जग्गामा तालीम केन्द्र बनाउन लागिएको हो ।

विदेशबाट समेत तालीम लिन आउन सक्ने गरी सुविधा सम्पन्न तालीम केन्द्र बनाउने तयारी थालिएको संघका सभापति कृष्णराज धरेलले बताए । नेपालमा अहिलेसम्म व्यवस्थित तालीम केन्द्र नरहेकाले आँखाका चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासक, लेखा अधिकृतलगायत आँखासम्बन्धी काम गर्ने सबैलाई तालीम दिन सक्ने गरी तालीम केन्द्र बनाउन लागिएको धरेलले बताए ।

संघका पूर्व सभापति एवं संघले सञ्चालन गरेको भरतपुर आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्केका अनुसार तालीम केन्द्र निर्माणका लागि पाँचतले भवनको नक्साङ्कनको काम शुरु गरिएको छ । भुइँतल्लामा पार्किङ गरेर तालीम केन्द्र भवन निर्माण गरिने छ । मास्केका अनुसार तालीम केन्द्र सञ्चालनमा ल्याउन ३५ करोड रुपैयाँ हाराहारी खर्च लाग्नेछ ।

त्यसैगरी, नेपाल सरकार, मित्र राष्ट्रहरु, भरतपुर महानगर, प्रदेश सरकार र निजी व्यक्ति तथा संघसंस्थासँग पनि सहयोगको आह्वान गरी तालीम केन्द्र सञ्चालनमा ल्याइने संघका केन्द्रीय कोषाध्यक्षसमेत रहनुभएका मास्केले बताए ।

नेत्रज्योति संघहरुले देशभरमा १८ वटा आँखा अस्पताल सञ्चालन गरेका छन् । अन्य संघसंस्था र निजी क्षेत्रबाट पनि आँखा अस्पताल सञ्चालनमा रहेका छन् । सीमावर्ती भारतीय क्षेत्रका पनि पाँच प्रतिशतको हाराहारीमा बिरामी आउने गर्दछन् ।