सूचना प्रविधि

सञ्चारमन्त्री–जापानी राजदूत भेट

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज सिंहदरबारमा भेट वार्ता भएको छ ।

सो अवसरमा मन्त्री बाँस्कोटाले दुई देशको आपसी र सुमधुर सम्बन्ध सन्तोषजनक रहेको बताउँदै संघीय नेपालको केन्द्र, प्रदेश र स्थानीय तहमा सूचना र सञ्चार प्रविधिको व्यवस्थापनका लागि सहयोग गर्न जापान सरकारलाई आग्रह गरे । उनले रेडियो नेपालको केन्द्रीय स्टुडियो बने जस्तै अन्य सञ्चार कार्यालयमा भूकम्प प्रतिरोधी भवन बनाउन सहयोग गर्न आग्रह गरे ।

राजदूत साइगोले दुई देशबीच दौत्य सम्बन्ध कायम भएको सन् २०१६ मै ६० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग र थप सम्बन्ध विस्तारका लागि जापान तयार रहेको बताए ।