शिक्षा

आयोग अझै एकात्मक प्रणालीमा

काठमाडौँ । लोक सेवा आयोगले एकात्मक शासन व्यवस्था प्रणालीमा आधारित भएर नै पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । मुलुक संघीय संरचनामा गइसके पनि आयोगलाई सरकारले संघ, प्रदेश र स्थानीय तहको दरवन्दी स्वीकृत गरेर नबुझाएकाले पुरानै संरचना आधारित भएर कार्यतालिका सार्वजनिक गरिएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

“हामीले नयाँ आर्थिक वर्ष शुरुआत हुनासाथ वार्षिक कार्यतालिका सार्वजनिक गर्नुपर्ने हुन्छ तर त्यही अनुसार सरकारले नयाँ संरचनाअनुसार दरबन्दी नबुझाएकाले पुरानै संरचनामा विज्ञापन गर्नका लागि कार्यतालिका सार्वजनिक गरेका हौ” उनले भने ।

सरकारले संघ, प्रदेश र स्थानीय तहको दरबन्दी स्वीकृत गरेर किताबखानामा दर्ता गर्नुपर्ने हुन्छ । उनले एकात्मक संरचनामा नै विज्ञापन गरिने भएकाले त्यसैबाट नै सरकारले संघ, प्रदेश र स्थानीय तहका लागि कर्मचारी पठाउनुपर्ने हुन्छ ।

आयोगले सहसचिवदेखि खरदारसम्मको विज्ञापनको कार्यातालिका प्रकाशित गरेको छ । सरकारले अन्तरिम व्यवस्थापनका लागि संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी तथा स्थानीय तहमा ५७ हजार ६९० कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।

प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म लोकसेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहको विज्ञापन गर्न पाउने व्यवस्था गरिएको छ । अहिले प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी आधार र मापदण्ड बनाउनका लागि बनेको विधेयकको मस्यौदा तयार पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिएको आयोगका उपसचिव सुवेदीले जानकारी गराए । आयोगले बर्षेनी करीब नौ हजार कर्मचारीका लागि विज्ञापन गरी परीक्षा लिने गरेको छ ।