गण्डकी प्रदेश

युवा उद्यमीलाई अनुदान

बागलुङ । उद्यममा लागेका दश युवाले बडीगाड गाउँपालिकाबाट जनही रु एक लाख ४० हजारका दरले अनुदान पाएका छन् । युवा लक्षित कार्यक्रमअन्तर्गत ती युवाहरुलाई अनुदान दिइएको हो । अनुदान पाएका युवाले रु ७० हजार थप गरी कूल रु दुई लाख १० हजार बराबरको लगानी गरेका छन् ।

वडा कार्यालयको सिफारिश र गाउँपालिकामा आएको प्रस्तावका आधारमा ती युवा छनोटमा परेका थिए । अनुदान पाउनेमा वडा नं १ का टीका पच्या, २ का विष्णु पुरी, ३ का केयरसिंह पुन, ४ का प्रकाश श्रीस, ४ का हिराबहादुर घिमिरे, ६ का वीरबहादुर रजाली, ७ का दीपकबहादुर माझी, ८ का रुपेश पाइजा, ९ का पानबहादुर केसी र १० का तीर्थलाल सुनार छन् ।
‘एक वडा, एक युवा उद्यमी’ तयार गर्ने लक्ष्य गाउँपालिकाको छ । युवालाई उद्यमशील बनाउनका लागि प्रेरित गर्ने उद्देश्यले अनुदान कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताए । “युवाहरु गाउँमै स्वरोजगार बनून्, उद्यम विस्तार होस् भन्ने हाम्रो उद्देश्य छ,” उनले भने ।

अनुदान पाएका युवा उद्यमीले व्यावसायिक कृषि र पशुपालन शुरु गरेका छन् । अधिकांशले व्यावसायिक बाख्रापालनमा लगानी गरेको बडीगाड युवा मञ्चका अध्यक्ष ढाटलेन्द्र शेरचनले बताए । मञ्चले युवा सशक्तिकरण र उद्यम प्रवद्र्धन कार्यक्रममा गाउँपालिकासँग सहकार्य गर्दै आएको छ । ‘एक वडा एक युवा उद्यमी’ कार्यक्रमको व्यवस्थापन र सहजीकरण पनि उक्त मञ्चले गरिरहेको छ ।

अनुदान पाएका युवाहरुले सञ्चालन गरेको उद्यम, व्यवसायको अनुगमन र निरीक्षण गाउँपालिका र मञ्चले संयुक्त रुपमा गर्ने भएका छन् । अनुदान बुझेका युवाहरुले आफूले शुरु गरेको उद्योग तथा व्यवसायलाई नमूनायोग्य बनाउने प्रतिबद्धता जनाएका छन् । वडा नं २ का युवा उद्यमी विष्णु पुरीले गाउँपालिकाले गरेको सहयोग र उत्प्रेरणालाई खेर जान निदने बताए ।