समाचार

डा. केसीको स्वास्थ्य अवस्था बुझ्न मुख्यमन्त्री शाही जुम्लामा

सुर्खेत । बीसदिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको टोली आज जुम्ला पुगेको छ ।

संघीय सरकारको प्रतिनिधित्व गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा सरकारका वार्ता टोलीका संयोजक खगराज बराल र सदस्य गुणराज लोहनी पनि अहिले जुम्ला पुग्नुभएको छ । टोलीले अहिले डा. केसीको स्वास्थ्य स्थिति बुझ्ने काम गरिरहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

“डा. केसीसँग वार्ता पनि चलिरहेको छ, उनीबाट आएको प्रतिक्रियाअनुसार सरकारले आफ्नो काम अघि बढाउँछ,” कानूनमन्त्री भण्डारीले भए। उनीसँगको वार्तामा सहमति भएको खण्डमा भने सरकारले आजै हेलिकोप्टरमार्फत डा. केसीलाई काठमाडौँ लैजान तयारी गरेको जनाइएको छ ।