बाग्मती

कामपालाई करदातामैत्री बनाउन अभियान 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले औपचारिक शिक्षालाई व्यावहारिक बनाउन र राजस्व प्रशासन करदातामैत्री बनाउन अभियान शुरु गरेको छ ।

यसै आर्थिक वर्षको शुरुवातसँगै राजस्व प्रशासनलाई करदातामैत्री बनाउन कामपाले अभियान थालेको हो । यसका लागि जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण शुरुवात बुधबारदेखि भइसकेको छ ।

प्रत्येक जनप्रतिनिधिलाई यस किसिमको अभियानमा सहभागी गराएर सम्बन्धित वडाका नगरवासीलाई जानकारी गराए । त्यसैले शुरुवातको समयमा प्रशासनका कर्मचारी र जनप्रतिनिधिलाई यस अभियानमा सहभागी गराइएको छ ।

बुधबार अभियानको शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाबाट स्वीकृत विधेयकका व्यवस्थाका विषयमा जनप्रतिनिधि र कर्मचारीका बीच एउटै बुझाई हुन आवश्यक रहेकाले अभियान शुरु गरेको जानकारी दिए ।

नगरसभाले आव २०७५/०७६ का लागि स्वीकृत गरेको आर्थिक विधेयकको व्यवस्थाका विषयमा जनप्रतिनिधि र कर्मचारीका बीच द्विविधा उत्पन्न नहोस् भन्ने उद्देश्यले अभिमुखीकरण शुरुवात गरिएको पनि प्रमुख शाक्यले जानकारी दिए ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गीले नागरिकलाई सम्बन्धित शीर्षकमा कर तिर्नका लागि जिम्मेवार बनाउन र लिएको कर खर्च भएको शीर्षक देखाउन पनि यस्ता अभियानको आवश्यकता परेको धारणा राखे ।

महानगरले ठूलो संख्यामा एकैपटक तथा सानो सानो समूहमा गरी पटकपटक अभिमुखीकरण गरेर राजस्व प्रशासनलाई मजबुत बनाउने लक्ष्य राखेको छ । विगतका ऐन र कानूनी व्यवस्थालाई विस्थापित गर्दै नयाँ व्यवस्था शुरुवात भएकाले पनि यस प्रकारको कार्यक्रमको आवश्यकता देखिएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी गराए ।

अभियानमा जनप्रतिनिधि कामपाका कर्मचारी र व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थी सहभागी रहेका छन् ।