लुम्बिनी

मेलमिलाप पद्धतिमार्फत मुद्दा टुंगोमा

पाल्पा । पाल्पा जिल्ला अदालतमा परेका मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका छन् । आर्थिक वर्ष २०७४/०७५ मा ४२ थान मुद्दा मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका हुन् । गत आवमा ८३ थान मुद्दा मेलमिलाप केन्द्रमा पठाएकोमा ४२ मुद्दा मेलमिलापमार्फत सफलता पाएको र ३३ थान मुद्दा मेलमिलाप हुन नसक्दा फिर्ता भएको हो । आठवटा मुद्दा मेलमिलापका लागि छलफलको क्रममा रहेका छन् । दुवै पक्षलाई मेलमिलाप पद्धतिबाट विवादको टुंगो लगाउँदा समय, पैसाको बचत हुने गर्दछ ।

जिल्ला न्यायाधीश शंकरराज बरालले पत्रकार सम्मेलनमा जिल्ला अदालत, पाल्पा देशमा नै सबैभन्दा बढी मेलमिलाप पद्धतिबाट मुद्दा टुंगो लगाउन सफल भएको बताए। ४२ थान मुद्दामा मेलमिलापबाट सफलता हासिल गर्दा जिल्ला अदालतले ५६ प्रतिशत प्रगति हासिल गरेको छ ।

पाल्पामा ३२ जना मेलमिलापकर्ता केन्द्रमा सूचीकृत रहेका छन् । गत आवमा ३२७ मुद्दा फछ्र्योट हुन सफल हुँदा १०२.८३ प्रतिशत प्रगति हासिल गर्न सफल भएको स्रेस्तेदार सुवर्ण खनालले जानकारी दिए ।

मेलमिलापका पद्धतिमार्फत टुंगो लागेका मुद्दा दिगो हुने गर्दछन् । जिल्ला अदालतमा आएका सम्बन्धबिच्छेद, झगडा, जग्गालगायतका देवानी प्रकृतिका मुद्दा मेलमिलाप पद्धतिबाट विवादको टुंगो लगाउने काम भएको छ ।

मुद्दा मेलमिलापमार्फत टुंगोमा लागेपछि अदालतलाई न्याय सम्पादनमा सहज भएको छ । मेलमिलापमार्फत विवाद टुंगो लगाउन सक्ने मुद्दामा बहस गर्नुपर्दा अदालतमा न्याय सम्पादनमा कठिनाइ सिर्जना हुँदै आएको अदालतले जनाएको छ ।