बाग्मती

जोखिम वर्गका लाभग्राहीलाई रु ५० हजार थप

रसुवा । भूकम्पपछि जोखिम वर्गमा सूचीकृत भएका प्रभावित बासिन्दालाई रेडक्रसले थप सहयोग दिने भएको छ । रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तामाङका अनुसार आवास पुनःनिर्माणको कार्यअन्तर्गत लाभग्राही छनोट भएको तर पारिवारिक सहारा नभई जोखिम वर्गमा परिभाषित भएका ७० वर्षमाथिका १६५ जना ज्येष्ठ नागरिक, ६५ वर्षमाथिका ८५ जना एकल महिला, १६ वर्षमुनिका दुई नाबालक र १३ जना अपांगता भएका व्यक्तिलाई प्रतिपरिवार रु ५० हजारका दरले पुनःनिर्माणमा थप सहयोग गर्ने कार्यक्रम तय भएको बताए ।

सहयोग रकम आगामी डिसेम्बरसम्ममा वितरण गरी सक्नुपर्ने भएकाले मापदण्डअनुरुप स्थानीय–तह, जिल्ला समन्वय समिति, स्थानीय प्रशासन, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण रसुवा एकाइसमेतको सहभागितामा बुधबार कार्ययोजना अनुमोदन भइसकेकाले अब रकमको साथै पुनःनिर्माण कामको सहयोगका लागि प्राविधिक ज्ञानसमेत प्रदान गरिने रेडक्रसका इञ्जिनियर दीपक गिरिले जानकारी दिए ।
रसुवाका भूकम्प प्रभावित करीब १२ हजारमध्ये जिल्लाभर २७५ जना जोखिम वर्गमा परिभाषित भएका छन् । उनीहरुलाई थप सहयोग प्रदान गर्दा रु एक करोड ३७ लाख ५० हजार रेडक्रसले खर्च गर्ने प्राविधिकले बताएका छन् ।

यस्तै, जिल्ला दैवीप्रकोप उद्धार समितिको समन्वयमा भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत रेडक्रस सोसाइटीले उत्तरगया गाउँपालिकाको ठूलोगाउँ क्षेत्रमा ४५५ घर निर्माणको सम्झौता गरी निर्माण कार्य अन्तिम चरणमा पु¥याएको छ ।

अहिलेसम्म ३१८ घर निर्माण सम्पन्न भइसकेको र बाँकी घर निर्माणको काम तीव्ररुपमा अघि बढिरहेको रेडक्रस सभापति बाबुलाल तामाङले जानकारी दिए ।

सरकारी मापदण्डका आधारमा घर निर्माणका लागि संस्थाले खर्च गर्ने रु १३ करोड ६५ लाखमध्ये हालसम्म कार्य प्रगतिको आधारमा रु नौ करोड भुक्तानी भइसकेको रेडक्रस रसुवाले जनाएको छ ।