साहित्य

तीन स्रष्टालाई परिषद्को आजीवन सदस्यता

काठमाडौँ । नेपाली वाङ्मय परिषद्ले २०५ औँ भानुजयन्ती तथा परिषद्को छैटौँ वार्षिकोत्सवका अवसरमा नेपाली कविताबारे विशेष कविगोष्ठीको आयोजना ग¥यो ।

भारतका सिक्किम, दार्जिलिङ, सिलगुडी, मिरिकलगायतका स्थानका कविलाई काठमाडौँ आमन्त्रण गरिएको उक्त कार्यक्रममा नेपालका कवि देवकी अभिलाषी, सुनिता खनाल र बिना थिङ तामाङले आ–आफ्ना कविता पाठ गरेका थिए ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद विभाग प्रमुख प्रा डा उषा ठाकुर, आख्यान विभाग प्रमुख मातृका पोखरेल र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ नारद हार्तम्छालीको पनि उपस्थिति रहेको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको सहयोग रहेको सो कार्यक्रममा सिलगुडीका कवि तथा समीक्षक सुकराज दियालीले पूर्वोत्तर भारतमा नेपाली कविताको स्थितिबारे संक्षेपमा गोष्ठीपत्र प्रस्तुत गरेका थिए । सिक्किमका कवि वीरु वाङ्देल, दार्जिलिङ, मिरिक तथा सिलगुडीबाट आएका कवि रन्जित गुरुङ, महेन्द्र स्याङ्वो, मनोहर शर्मा, सुरज रोसरी र शरदकुमार क्षेत्रीले कविता सुनाएका थिए ।

संस्थाको विधानअनुसार कार्यक्रममा कविता राई गाउँले, वसन्तराज अज्ञात र सरस्वती पन्त भट्टराईलाई आजीवन सदस्यता प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उनीहरुलाई ताम्रपत्र र फूलमाला लगाएर आजीवन सदस्यता प्रदान गरे ।

कुलपति उप्रेतीले यस्तो महत्वपूर्ण कार्यक्रमको संयोजन गरेकामा परिषद्लाई धन्यवाद दिँदै नेपाली मूलका भारतीय कविले नेपाली कविताको उन्नयनमा उल्लेखनीय योगदान दिएको बताए ।

परिषद्का अध्यक्ष शशी लुमुम्बूले स्थापना कालदेखि नै संस्थाले भारतका विभिन्न प्रान्तका नेपालीभाषी तथा गैरनेपाली भाषी स्रष्टालाई नेपाल आमन्त्रण गरी साहित्यिक आदानप्रदान कार्य गरिरहेको जानकारी दिए ।

कार्यक्रममा परिषद्का उपाध्यक्ष पूर्ण इन्फादा र सचिव टीका चाम्लिङले संस्थाका गतिविधिबारे सहभागीलाई जानकारी गराएका थिए ।