समाचार

साउन ३ गते नेपाल इन्जिनियर दिवस भव्यताका साथ मनाउने तयारी

ललितपुर । नेपाली इन्जिनियरहरुको छाता संस्थाको रुपमा रहेको नेपाल इन्जिनियर्स एशोसिएनले भोलि साउन ३ गते भव्यताका साथ ५६ औं इन्जिनियर दिवस मनाउने भएको छ ।

एशोसिएसनका अध्यक्ष ई.हरेराम श्रेष्ठले ५६ औ इन्जिनियर दिवस भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

संघको केन्द्रीय कार्यालयले प्रकाशित गरेको सूचना अनुसार भोलि बिहानदेखि नै केन्द्रमा काठमाडौंकोे राष्ट्रिय सभागृह तथा देशभित्र र विदेशमा रहेका क्षेत्रीय शाखा केन्द्र र शाखाहरुमा बिहानैदेखि विविध कार्यक्रमहरु संञ्चालन हुने भएका छन् ।

केन्द्रीय कार्य समितिको आयोजनामा सभागृहमा बिहान ८ः३० बजे रक्तदान कार्यक्रमको आयोजना गरिनेछ । इन्जिनियर दिवसको मुख्य कार्यक्रमको उद्घाटन बिहान १०ः०० बजे सोही स्थानमा हुनेछ ।

उद्घाटन समारोहको प्रमुख आतिथ्यता भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले गर्नुहुनेछ ।

दिउसो १ बजे आरम्भ हुने कार्यक्रमको दोस्रो शत्रमा “Integrated Engineering Services for Sustainable Development” विषय राष्ट्रिय गोष्ठी आयोजना गरिनेछ । सो गोष्ठीमा विभिन्न कार्यपत्र प्रस्तुत गरि तिनमाथी विज्ञहरुबाट टिप्पणी गराएर सहभागीबीचमा छलफल गराईने कार्यक्रम रहेको छ ।

एशोसिएसनले साँझमा नृत्य र गायन सहितको विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि राखेको छ ।