समाचार

दाहाल भए नियुक्ती नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक

काठमाण्डौ । नेपाली कांग्रेसका नेता पुरुषोत्तम दाहाल कांगे्रसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा नियुक्त भएका छन् ।

नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली २०६८ को परिच्छेद ४, नियम २७ र २८ बमोजिम गठित केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा ओखलढुंगाका पुरुषोत्तम दाहाललाई नेपाली कांग्रेसको नियमावली २०६८ को नियम २७९३० बमोजिम नियुक्त गरेका हुन् ।

श्री दाहाल विगत चार दशकदेखि पत्रकारिता क्षेत्रमा अनवरत रुपमा सक्रिय छन् भने विगत ३४ वर्षदेखि प्राध्यापनमा संलग्न छन् । विसं २०३१ देखि नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा संलग्न दाहाल मानव अधिकारकर्मी तथा साहित्यकार समेत हुन् ।
श्री दाहालले २०४१ देखि २०५६ सम्म नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर काम समेत गरिसकेका छन् ।