गण्डकी प्रदेश

बाढीले बुर्तिबाङमा क्षति

बागलुङ । गएरातिको अविरल वर्षापछि आएको भल–बाढीले ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा क्षति पु¥याएको छ ।

स्थानीय ठाडो खोलाले बाढीको रुप लिएपछि बजारका घर, भवन र सडकमा क्षति पुगेको हो । पसल, फर्निचर, मिल, रेष्टुराँ रहेका १५ वटा अस्थायी टहरामा बाढी पसेको प्रहरीले जनाएको छ । केही टहरा पूर्णरुपमा क्षतिग्रस्त भएको र अन्यमा पसल तथा घरभित्रका सामान पुरिएका छन् ।

चार पक्की घरमा आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए । “घरभित्र पसेको भल, गग्रेटा सफा गर्ने र सामान निकाल्ने काम भइरहेको छ”, उनले भने, “हिजो नै जोखिम भएका घरमा नबस्न भनिएकाले कुनै मानवीय क्षति भएन ।” मंगलबार दिउँसोदेखि नै परेको वर्षाले बुर्तिबाङ बजार जलमग्न भएको थियो । गग्रेटासहित बजार पसेको भलले निर्माणाधीन बुर्तिबाङ प्राथमिक स्वास्थ्य चौकीको एक तला पुरेको छ ।

बजारका अस्पताल, बसपार्क, देवचोक, इलाका प्रहरी कार्यालय रहेको क्षेत्रमा बढी क्षति पुगेको स्थानीय रामनारायण सुवेदीले बताए । उनका अनुसार स्थानीय बासिन्दा रातभर वर्षा भएपछि डरले जाग्राम बसेका थिए । भौतिक क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । बुर्तिबाङदेखि भब्रेटा जाने मोटरबाटो खन्ने क्रममा थुप्रिएको ढुंगा, माटो ठाडो खोलाले बगाउँदा बाढीको रुप लिएको हो ।

स्थानीय विपद् व्यवस्थापन समितिले उद्धार र राहतमा जुट्न सबैलाई अनुरोध गरेको छ । घरटहरा पूर्णरुपमा क्षति भई विस्थापित बनेका परिवारलाई तत्कालका लागि विद्यालय भवनमा राख्ने तयारी भइरहेको छ । बाढी पसेको स्थानमा सडक क्षतविक्षत बनेपछि बुर्तिबाङबाट बाहिर छुट्ने सवारी साधन रोकिएका छन् । बिहानपख वर्षा थामिएपछि जनजीवन सामान्य बन्दै गएको छ ।