अन्तर्राष्ट्रिय

हिंसात्मक विद्रोह जारी रहेको यमनमा वार्ता पहल सकृय

साना । हिंसात्मक विद्रोह जारी रहेको यमनमा शान्ति प्रक्रियाको प्रयासका लागि संयुक्त राष्ट्रसंघका एकजना विशेष दूत मंगलबार यमन आइपुगेका छन् ।

गएका केही वर्षदेखि भइरहेको यमनको द्वन्द्व समाधानका लागि भन्दै राष्ट्रसंघीय विशेषदूत मार्टिन ग्रफ्थ मंगलबार यमनको राजधानी साना आइपुगेका हुन् ।

उनले यमनको सरकार र द्वन्द्वरत पक्षसँग वार्ताको प्रयास गर्ने समाचारमा जनाइएको छ ।

विद्रोहीलाई शान्ति प्रक्रियामा ल्याउन शान्ति वार्ताका लागि पहल गर्ने उद्देश्यले उनी यमन आउनु भएको अनुमान गरिएको छ । तर यस विषयमा संयुक्त राष्ट्रसंघका तर्फबाट भने केही आएको छैन ।

यसअघिको भ्रमणका क्रममा विशेषदूत मार्टिनले आफूले यहाँका विद्रोहीलाई शान्ति प्रक्रियाका लागि वार्तामा ल्याउन पहल गर्ने बताएका थिए ।

यमनी हुथी विद्रोहीका कारण यहाँ पछिल्लो समयमा ठूलो सङ्कट उत्पन्न भएको छ । सो सङ्कट समाधानका लागि राष्ट्रसंघले पहल गर्ने जनाइएको थियो ।

तर शान्ति प्रक्रियाका लागि गरिएका भनिएका विगतका प्रयासको ठोस निष्कर्ष भने केही आएको छैन । जसका कारण यहाँ दिन प्रतिदिन हिंसा थपिएको समाचारमा जनाइएको छ ।