गण्डकी प्रदेश

खानेपानी आयोजना निर्माण

बाबियाचौर, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकमका बासिन्दाले तीन वर्षको प्रयासमा रू दुई करोड ५१ लाख ३४ हजार ५४० को लागतमा खानेपानी आयोजना निर्माण गरेका छन् ।

कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ योजनाबाट साविक ताकम गाविसको ३, ४, ५, ६ र ९ नं वडाका ३३० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष देवबहादुर थापाले बताए ।

सो आयोजनाका लागि पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाबाट रु ७८ लाख ९९ हजार ८१४ र भारतीय दूतावासबाट रु ७५ लाख ७० हजार बराबरको निर्माण सामग्री प्राप्त भएको स्थानीय उपभोक्ताले रु एक करोड छ लाख ६४ हजार ७२६ बराबरको श्रम तथा नगद लगानी गरेका थिए ।

काफलडाँडाका ३० घरलाई नौ वटा सार्वजनिक धारा र ताकमका ३०० घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ ।
प्रतिघर एक सय दिनका दरले रु ९५ लाख बराबरको श्रमदान गरेका उपभोक्ताले रु एघार लाख ७७ हजार नगदसमेत लगानी गरेका थिए । महिनौंसम्म श्रमदान गरेका उपभोक्ता घरमै शुद्ध खानेपानी आपूर्ति हुन थालेपछि खुशी भएका स्थानीयवासी खिमबहादुर खत्रीले बताए ।

मालिका गाउँपालिकाको जुक्जा र धौलागिरिको सिमानामा पर्ने कोटखोला, देउबुजा र हटिमुलको मुहानबाट प्रतिसेकेण्ड चार लिटरका दरले पानी आपूर्ति गरिएको छ । आयोजनाको दिगो सञ्चालन र उपभोक्ताको सुविधाका लागि मिटर सहितको निजी धारा जडान गरिएको छ ।

तेह्र वटा रिजर्भ ट्यांकीबाट खानेपानी वितरण गरिएको छ । यसअघि ताकमवासीको मागअनुसार आपूर्ति नहुँदा खानेपानीको समस्या हुँदै आएको थियो । बिहान ३ बजे उठेर धारामा पानी लिन जानुपर्ने समस्या अहिले हटेको स्थानीयवासी नीलकुमारी भण्डारीले बताए।

घरघरमा खानेपानी आउन थालेपछि धाराबाट गाग्री, ग्यालिन, बाल्टीबाट खानेपानी ओसार्नुपर्ने बाध्यता हटेको वडाअध्यक्ष कलानिधि सुवेदीले जानकारी दिए ।

बाबियाचौर–झाँक्रेपानी पद्मार्ग निर्माण शुरु

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि पर्यटकीयस्थल झाक्रेपानी जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको झाँक्रेपानीलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले पदमार्ग निर्माणको काम शुरु गरेको हो ।

यसवर्ष गाउँपालिकाको रु चार लाख अनुदान र स्थानीयवासीको एक लाख चालीस हजार ८०४ बराबरको श्रमदानमा अर्मनको पुलचोकदेखि गहतेतर्फ जाने उकालो बाटोमा करीब डेढसय मिटर पक्की सिँढी सहितको पद्मार्ग निर्माण भएको उपभोक्ता समितिका सचिव बलप्रसाद रोकाले बताए ।

उनका अनुसार २३ घनमिटर क्षेत्रफल रहेको पदमार्गमा २०० वटा सिँढी छन् । आगामी वर्ष गहते, नेटा हुँदै झाँक्रेपानीसम्म थप पद्मार्ग विस्तार गर्ने योजना रहेको सचिव रोकाले बताए ।

समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित मंगला गाउँपालिका– ३ नं वडामा पर्ने झाँक्रेपानीबाट अन्नपूर्ण, धौलागिरि, निलगिरि गुर्जा लगायतका हिमाल, पहाडी भूगोल, वनजंगल र सूर्योदयको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

झाँक्रेपानीमा यसवर्ष गाउँपालिकाको रु दुई लाख सहयोगमा करिब एक सय मिटर पदमार्ग निर्माण गरी भ्यु टावर बनाउन जग खनिएको उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रोकाले बताए ।

यसैबीच अन्नपूर्ण गाउँपालिका– ५ शिखको घट्टे खोलामा पक्की पुल निर्माण भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आर्थिक सहयोगमा स्थानीयवासीले श्रमदान गरेर आठ मिटर लामो पुल निर्माण गरेका हुन् । पुल निर्माण भएपछि शिख, तल्लो शिख, खिवाङ र पेनाला गाउँका बासिन्दालाई आवतजावतमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लीलाबहादुर राम्जालीले बताए ।

यसबाट करीब दुईसय घरधुरी लाभान्वित भएका छन् । पुल निर्माणका लागि एक्यापले रु एक लाख ४५ हजार उपलब्ध गराएको थियो । पुल निर्माणका लागि तल्लो शिख युवा क्लबले रु एक लाख लगानी गरेको उक्त क्लबका तुलबहादुर गर्बुजाले बताए । शिखलाई विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पद्मार्गले समेटेको छ ।