खेलकुद

मुगुका किशोरीलाई फुटबल प्रदान

काठमाडौँ । स्पेनमा भएको फुटबल प्रतियोगिताबाट फर्केर आएका मुगुका किशोरी खेलाडीको समूह ‘रारा टिम’ लाई फुटबल र जुत्ता प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय कम्पनी ‘केल्मी ब्राण्ड’का नेपाल निर्देशक उत्तम नेपालले आज यहाँ आयोजित कार्यक्रममा मुगुका १७ फुटबल खेल्ने किशोरीलाई एक–एक वटा फुटबल र एक–एक जोर जुत्ता प्रदान गरेका हुन् ।

उनले स्पेनमा फुटबल खेल्न जाँदा फुटबल सामग्रीको अभावले राम्रोसँग तयारी गर्न नपाएकाले अहिले ती सामग्री प्रदान गरिएको र खेलाडीले राम्रोसँग फुटबल खेले अन्य सहयोगसमेत गरिने बताए ।

“हामीसँग पहिले फुटबल सामग्री भएको भए स्पेनमा पनि राम्रोसँग खेल्ने थियौँ”, खेलाडी भाग्यलक्ष्मी भामले भने, “अब फुटबल र जुत्ताजस्ता सहयोगले प्रेरणा मिलेकाले विदेशीसँग जित्नेगरी खेल्ने छौँ ।” स्पेन लैजान व्यवस्थापन गर्नुभएका सुनकली डकुमेन्ट्री प्रालिका निर्देशक भोजराज भाटले फुटबल सामग्रीले खेलाडीमा मनोबल बढाएको बताए ।

केही दिनअघि स्पेनमा भएको ‘डोनस्टिक कप इन्टरनेशनल’ प्रतियोगितामा बार्सिलोना, रियल मेड्रिट, एथलेटिक्स क्लब विलवाहुलगायत विदेशी क्लबसँग नेपालको रारा टिमले खेलेको थियो । प्रतियोगितमा विश्वका ६३० समूहका आठ हजार खेलाडी सहभागी थिए ।