मनोरञ्जन

मौलिकताको खोजीमा लोकगायिका

काठमाडौँ
नौ डाँडा काटेर पारि
छोडी आयाँ लमजुङको घरबारी
लमजुङ तुर्लुङकोट
सररर हावा चल्यो लाँकुरीको बोट ।

असंख्य लोकगीत गाएर नेपाली लोकपारखीमाझ ख्याति कमाएकी बिमाकुमारी दुरा पछिल्लो समय गायन क्षेत्रमा त्यति सारो देखिन्न् । ‘छुट्यो मायाजाल’, ‘खैरेनीमा गेट’, ‘वनको काफल वनकै चरीलाई’, ‘फुल्यो निमपत्ता’ र ‘सररर पानी घट्टामा’ जस्ता कैयन् कालजयी गीतले दुरालाई नेपाली लोकगायन क्षेत्रको उचाइमा पु¥यायो ।

उनको गीत कुनै बेला नेपाली लोकदोहरी क्षेत्रमा चर्चाको शिखरमा थियो, जनजिब्रोमा झुण्डिएको थियो र देशविदेशका नेपाली स्रोताबीच चर्चा कमाएको थियो । उनी मेलापर्व, विभिन्न उत्सव र सांगीतिक कार्यक्रममा निकै व्यस्त देखिन्छि । उनले झण्डै दुई सय गीत आफैंँले रचना गरेको छ भने अरुका पाँच हजारभन्दा बढी गीतमा स्वर दिएको छ ।

विसं २०२८ वैशाख ९ मा तत्कालीन सिन्दूरे गाविस– ५, लमजुङमा बुबा दलबहादुर र आमा शान्तामाया दुराको कोखबाट जन्मनुभएकी दुरा बाल्यकालदेखि नै गीतप्रति आकर्षित हुन् । पहाडी मनोरम प्रकृति, जीवन्त संस्कृति, गाउँले जीवन, चाडपर्व र मानिसका दुःखसुख हेर्दै हुर्कंदै गर्दा पाखापखेरामा गुञ्जने भाका टिपेर गुनगुनाउन थिन्। उनलाई अरुभन्दा लोकभाकाले लोभ्यायो ।

“लोकगीत भनेपछि हुरुक्कै हुन्थेँ, मैले आठ वर्षको उमेरमा मेलापाता, घाँसदाउरा र गोठालो जाँदादेखि नै गाउन शुरु गरेको हुँ,” उनी भन्छिन् । दुराका गीतले धेरैको मन र मुटु छोएको छ । कर्णप्रिय स्वरका कारण उनको गीत धेरैको जिब्रोमा झुण्डिएको छ । गीतले धेरै प्रशंसक कमाएको छ –

माझी दाइ पोखरा फेवातालको
लाऊँ माया साँच्चैको,
नलाऊँ भो ख्याल ख्यालैको ।

बुबा भारतीय सेनामा जागीरे भए पनि दुराले पढ्न भने पाउएन । हजुरबुबा क्याप्टेन बखानसिंह र भिनाजु भीमबहादुर दुराको सहयोगमा काठमाडौँ आउनुभएकी उनले स्वर राम्रो भएकै कारण हजारौंँ गीतमा गाउने अवसर पाएको थियो । “मलाई हजुरबुबा र भिनाजुले काठमाडौँ ल्याएर गीत गाउने अवसर प्रदान नगरेको भए म अहिले लमजुङ तुर्लुङकोटमा घाँसदाउरा गरेर बस्ने थिए,”, उनी सम्झन्छिन् । गाउँ र जिल्लास्तरमा धेरै गीत गाउनुभएकी दुराले विसं २०४६ मा पहिलोचोटि ‘छोरीको जुनी…’ बोलको गीत आफ्नै आवाजमा अभिलेख गरे।

झण्डै तीन दशकको गायन क्रियाशीलताले उनलाई केवल प्रशंसा मात्र होइन पुरस्कार तथा सम्मानसमेत दिलाएको छ । उनले रेडियो नेपालको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पुरस्कारसमेत प्राप्त गरेकी छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरी पाँच सयभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरेकी छन् ।

दुराका गीत नेपालको डाँडापाखा र तराईका फाँटमा मात्र गुञ्जिएका छैनन्, हङकङ, सिङ्गापुर, दक्षिण कोरिया, बहराइन, मलेसिया, युनाइटेड अरब इमिरेट्स, कतार, बेलायत, भारत, श्रीलङ्कालगायत देशमा पनि पुगेका छन् । उनले त्यहाँ नेपाली स्रोताबीच आफ्नो गायनकला जीवन्त रुपले प्रस्तुत गरेकी छन् ।

ग्रामीण जीवन, परम्परागत संस्कृति, जीवनका भोगाइ, प्रेम, मिलन विछोड र नारी वेदनाका भाव उनको गीतमा पाइन्छ । गायन क्षेत्रमा तीन दशक समय व्यतीत गर्नुभएकी दुरा पछिल्लो समय नेपाली लोकगीतमा मौलिकता हराउँदै गएकामा चिन्ता व्यक्त गरे । “मैले हाम्रै पाखापखेरामा गुञ्जने स्वर र भाका टिपेर नेपालीले भोगेका दुःखसुखका गीत गाएको छु, हाम्रै परिवेशमा चलेका लय, भाव र सिर्जनालाई पछ्याएर लोकगीतको मौलिकपनलाई जीवन्त राख्ने कोशिस गरेको छु,”, उनी भन्छिन्, “लोकसंस्कृति, कला, भाषा र परम्परालाई बचाउन सके मात्र मुलुकको विकास हुने उनको भनाइ छ ।”

लोकगीतका अतिरिक्त उनले ठाडोभाका, गुरुङ गीत, कौरा र भजनसमेत गाउनुभएको छ । उनी नयाँ पुस्तालाई नेपाली परम्परागत मौलिक लोकगीत संगीतको प्रवद्र्धन, संरक्षण र अनुसरण गर्न आग्रह गर्छिन् । उनी नयाँ पुस्तालाई मेहनत, परिश्रम र गीतसंगीतको मर्मअनुसार प्रतिष्पर्धा गर्नसक्ने गरी लोकगीतको क्षेत्रमा लाग्न सुझाव पनि दिन्छिन् ।