अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा रुसको बचाउ

हेल्सिन्की । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा रुसको बचाउ गरेको बताइएको छ ।  अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपबारे दिएको मन्तव्यमा रुसको बचाउ भएको भनी अमेरिकीहरुले राष्ट्रपति ट्रम्पको विरोध गरका छन् ।

सोमबार हेल्सिन्कीमा आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले यस्तो प्रतिक्रिया दिए । उनको यो भनाई अमेरिकी गुप्तचर निकायले गरेको भनिएको अनुसन्धानको विपरित भएको पनि बताइएको छ । उनले अमेरिकी उक्त निकायको विपरित आफ्नो भनाई राखेको भन्दै अमेरिकी अधिकारीहरुले पनि विरोध गरेका जनाइएको छ ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा १२ जना रुसी अधिकारीहरूमाथि हस्तक्षेपको अभियोग लगाइएको थियो । उनीहरुको संलग्नता देखिएको पनि अधिकारीहरुले जनाएका थिए । त्यसपछि राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यस विषयमा कुनै कुराकानी भएको थिएन । उनीहरुबीच यो पहिलो पटक भेटवार्ताका क्रममा यस विषयमा कुरा उठेको हो ।

राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप या कुनै पनि प्रकृतिको साठगाँठ गर्नुपर्ने कुनै कारण नै नभएको राष्ट्रपति ट्रम्पले बताए समाचारमा जनाइएको छ । सो भेटवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले पनि रुसले अमेरिकाको कुनै पनि मामिलामा विगतमा पनि कहिल्यै हस्तक्षेप नगरेको बताउँदै रुसले यसरी अमेरिकामा हस्तक्षेप गर्नुपर्ने कुनै कारण नरहेको बताएका थिए ।
फिनल्याण्डको राजधानी हेलसिन्कीमा सोमवार यी दुई जना नेताबीच लामो भेटवार्ता भएको थियो । हेल्सिन्कीबाट प्राप्त समाचारमा उनीहरुबीच यहाँ एक्लाएक्लै करिब दुइ घण्टा लामो भेटवार्ता भएको थियो ।

भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पनि ट्रम्पलाई यस विषयमा प्रश्न गरिएको थियो । त्यस क्रममा पनि उनले यस्तो हस्तक्षेपको विषयमा आफूलाई विश्वास नरहेको धारणा राखेका थिए। अमेरिकी गुप्तचर निकायले उक्त निर्वाचनमा हिलारी क्लिन्टनलाई पछिपार्न राज्यद्वारा प्रायोजित साइबर आक्रमण गरेको र सामाजिक सञ्जालमा उहाँका विरुद्धका समाचारहरू राख्ने काममा रुसका विज्ञहरुले सघाएको निष्कर्ष निकालेका थिए ।

उता राष्ट्रपति ट्रम्पले पनि आफूले रुसका राष्ट्रपतिसँग गरेको कुराकानी सकारात्मक रहेको बताएका थिउ । उनले उक्त वार्ताले सम्बन्ध सुधारमा एक सकारात्मक भूमिका निर्वाह गरेको बताए ।
राष्ट्रपति ट्रम्प युरोपमा हालैमात्र गरेका उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न सोमबार हेल्सिन्की आइपुगेका हुन् । बेलायतमा राष्ट्रपति ट्रम्पको भने विरोध भएको थियो ।
सोमबार हेल्सिन्की शिखर सम्मेलनका क्रममा उनहिरुबीच पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको बारेमा समीक्षा गर्दै आगामी दिनमा सम्बन्ध सुधारका लागि पनि कुराकानी भएको बताइएको थियो ।

अमेरिकाले केही महिनाअघिसम्म रुसको विरोध गरेर रुसी कूटनीतिज्ञलाई देश निकाला समेत गरेको थियो । त्यसपछि बेलायत र केही युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए ।

यो कार्यको नेतृत्व गरेको अमेरिकासँग रुसको पनि आक्रोस रहेको थियो । तर पछिल्लो समयमा भने यी दुई देशबीच एकाएक सम्बन्ध सुधारका काम भएका छन् । त्यसैको परिणामस्वरुप सोमबार उच्चवार्ता भएको हो ।