कृषि

मकैको बीउ बिक्री भएन

मलेखु, धादिङ । नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकामा सञ्चालित मकै जोन कार्यक्रमबाट उत्पादित उन्नत जातको बीउ बिक्री हुन सकेको छैन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन कार्यक्रमअन्तर्गत उत्पादन गरेको मकैको बीउ बिक्री नभएको किसानको गुनासो छ । किसानले बजार व्यवस्थापनको माग गरेका छन् ।

एक वर्षअघिदेखि मकै जोन विकास कार्यक्रमअन्तर्गत नीलकण्ठ नगरपालिकाको चारवटा र ज्वालामुखी गाउँपालिकाको एउटा ठाउँमा रु एक करोड १७ लाखको लागतमा ५० मेट्रिक टन क्षमताका पोष्ट हार्बेष्ट भवन निर्माण गरिएको छ । उक्त भवनमा किसानले उत्पादन गरेर राखेको मकैको बीउ बिक्री हुन सकेको छैन ।

अठहत्तर कृषक समूह र एउटा कम्पनी गरी ७९ संस्थामार्फत दुई हजार ७७२ घरधुरी समावेश गरी कार्यक्रम सञ्चालन गरिएको मकै जोन विकास कार्यक्रमका कार्यालय प्रमुख होमनाथ लम्सालले बताए । छ सय ६३ हेक्टर क्षेत्रफल मकै जोन विकास कार्यक्रमले समेटेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले कृषि प्रविधि र आधुनिकीकरणमात्र होइन बजार व्यवस्थापनका लागिसमेत ध्यान दिन आग्रह गरे ।