गण्डकी प्रदेश

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना केन्द्रलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले स्मार्ट टिभी सहयोग गरेको छ । जिल्लामा भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलको जानकारी दिने उद्देश्यले कालीपुलमा स्थापना गरिएको केन्द्रलाई मोना कतारले स्मार्ट टिभी र प्रोजेक्टर सहयोग गरेको हो ।

सोमबार बेनीमा आयोजित कार्यक्रममा मोना कतारका सचिव तारा क्षेत्रीले सूचना केन्द्रका संयोजक एवं म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यलाई सहयोग हस्तान्तरण गरेका हुन् । कार्यक्रममा म्याग्दी भ्रमण वर्ष—२०७५ लाई सफल बनाउन रचनात्मक कार्यमा समेत सहभागिता जनाउने सचिव क्षेत्रीले बताए ।

यस अगाडि पनि कतारमै आयोजित कार्यक्रममा त्यहाँ रहेका नेपालीलाई म्याग्दी भ्रमणको निम्तो दिने गरी अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो । बेनी नगरपालिका, नेपाल पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य संघद्वारा सञ्चालित केन्द्रलाई सहयोग हस्तान्तरण कार्यक्रममा बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भ्रमण वर्षले जिल्लाका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसारले भविष्यमा पर्यटकको आगमन बढ्ने बताए ।

सोही अवसरमा सूचना केन्द्रका संयोजक शाक्यले स्मार्ट सूचना केन्द्रको अवधारणाअनुसार सञ्चालित केन्द्रमा जिल्लाभरका पुराना र नयाँ पदमार्गको सम्पूर्ण विवरण, दशकौँ अगाडि खिचिएका म्याग्दीका तस्वीर, सामाजिक, सांस्कृतिक, राजनीतिक, जिल्लावासीको पहिचान झल्कने तस्वीर र निःशुल्क इन्टरनेटसहित पर्यटकलाई आवश्यक पर्ने सम्पूर्ण सूचना र जानकारी सूचना केन्द्रमा राखिएको जानकारी दिए । केन्द्रमा अवलोकन गरी होटल बुक गरेमा छुटका सुविधासमेत रहेको शाक्यले बताए ।