अन्तर्राष्ट्रिय

गाजामा युद्धविराम पालना

गाजा सिटी । इजरायल र प्यालेस्टाइनको विवादास्पद सीमा क्षेत्र गाजामा हमास लडाकूहरुले आइतबार घोषणा गरेको युद्धविरामको पालना भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । शनिबार इजरायलका तर्फबाट भएको शक्तिशाली हमलामा परी हमासका केही सदस्य मारिएका थिए । त्यसपछि आइतबार युद्धविरामको घोषणा गरिएको हो ।

आइतबार घोषणा गरिएको युद्धविराम मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघीय शान्तिदूत निकोलाई एमलादेनोभको रोहबरमा गरिएको थियो । उनले हमासका तर्फबाट गरिएको सो युद्धविरामको अनुगमन गरिएको पनि जानकारी गराएका छन् । उनले गराएको जानकारीअनुसार हमास समूहले युद्धविरामको पालना गरेका छन् । शनिबार राति सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको थियो ।

तर आइतबार अपरान्ह्पछि भने कुनै हमला नभएको समाचारमा जनाइएको छ । सो ठाउँमा गएरातिको दोहोरो आक्रमणका कारण निकै तनावपूर्ण अवस्था उत्पन्न भएको थियो । तर आइतबार अपरान्ह्पछि भने स्थिति शान्तिपूर्ण रहेको बताइएको छ । अनुगमनकर्ताहरुले युद्धविरामको पालना भएको बताएका छन् ।

गाजातर्फ पछिल्ला केही समयमा हिंसा मच्चिएको छ । हमासका विरुद्ध इजरायलका तर्फबाट पनि ठूला हमलाहरु हुने गरेका पछिल्ला समाचारहरुमा जनाइएको छ ।