अन्तर्राष्ट्रिय

पुटिन र ट्रम्पबीच वार्ता हुदै

हेल्सिन्की । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार हेल्सिन्कीमा द्विपक्षीय वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि फिनल्याण्ड आइपुग्नुभएको छ । उनीहरुबीचको भेटवार्तालाई विश्वका सञ्चारमाध्यमहरुले पनि निकै प्रचार गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पको हालैमात्र गरेको युरोपको उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न उनी यहाँ आइपुगेका हुन् । तर सो भेटबाट त्यति ठूलो प्रगति भने नहुने राष्ट्रपति ट्रम्पले बताए। उनले उक्त बैठकबाट आफूले कमै अपेक्षा गरेको भेटअघि नै बताएका हुन् । राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले उक्त छलफलमा कुनै औपचारिक मुद्दा भने नहुने जानकारी यसअघि नै दिएका छन् ।

सोमबार हेल्सिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो । दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो ।

अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए । यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो ।

यस भेट वार्ताका क्रममा राष्ट्रपतिद्वय ट्रम्प र पुटिनबीच यस विषयमा पनि कुराकानी हुन सक्ने अनुमान गरिएको छ ।
तर सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप रहेको भनी लगाइएको आरोपको बारेमा पनि उक्त वार्तामा राष्ट्रपति ट्रम्पले प्रश्न उठाउन सक्ने अनुमान गरिएको छ ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा १२ जना रुसी अधिकारीहरूमाथि हस्तक्षेपको अभियोग लगाइएको थियो । त्यसपछि उनीहरुबीच यो पहिलो पटक भेटवार्ता हुन लागेको हो । त्यस आसन्न भेटका लागि यो कुनै औपचारिक मुद्दा नभए पनि राष्ट्रपति ट्रम्पले भने त्यसबारेमा आफूले कुरा उठाउने अनुमान गरिएको छ ।