राजनीति

सभापती देउवाको गम्भीर आशंका: डा. केसीलाई तलमाथी हुन सक्ने अवस्थाको निर्माण ओली सरकारले नियतवश गरिरहेको छ

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले डा. गोविन्द केसीको स्वास्थ्य स्थिती थप विग्रदै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । सोमबार एक बक्तब्य जारी गर्दै सभापती देउवाले चिकित्सा शिक्षा सुधारको माग राख्दैँ १७ दिनदेखि आमरण अनसनरत डा. केसीको स्वास्थ्य खस्किदैँ गएको खबरले आफूलाई गम्भीर बनाएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

‘यस्तो स्थिती उत्पन्न भइसक्दा पनि सरकार वार्ता मार्फत समाधानका लागि गम्भीर नहुनुलाई मैले झनै गम्भीर विषयका रुपमा लिएको छु, सभापती देउवाद्धारा जारी वक्तब्यमा भनिएको छ, चिकित्सा शिक्षामा सुधारका लागि अनसनरत डा. केसीसंग वार्ता गरी माग सम्वोधन गर्दै उहाँको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण म गराउन चाहन्छु ।’

आफ्नो नेतृत्वको अघिल्लो सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत जारी गरेको उनले वक्तब्यमा बताएका छन् । ।

‘डा. केसीसंगको वार्ता, सरोकारवालाहरुसंगको छलफल, माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेक सम्मत हल हुने मेरो दृढ निश्कर्ष छ ।, उनले वक्तब्यमा अघि भनेका छन्, शासन संचालन क्रममा सरकारले विवेकको मार्ग अख्तियार नगर्दा त्यसले गम्भीर दुर्घटना निम्त्याउँछ ।’

डा. केसीको जीवनमा तलमाथी हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उव्जीएको सभापती देउवाको भनाई छ । उनले अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानका प्रति नै गम्भीर घात हुने चेतावनी समेत दिएका छन् ।