कर्णाली प्रदेश

तातोपानी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

सुर्खेत । जुम्लाको तातोपानी जिल्लाकै तेस्रो पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा भएको छ ।  गाउँपालिकाभित्रका सम्पूर्ण घरधुरीमा गरिएको सर्वेक्षणमा सबै बालबालिकालाई पूर्ण खोप लगाएको भेटिएपछि गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको सो गाउँपालिकाका स्वास्थ्य संयोजक मणिकृष्ण उपाध्यायले जानकारी दिए ।

“हामीले जन्मेदेखि पाँच वर्षसम्मका सबै बालबालिका पूर्ण खोपको पहुँचमा आएको निश्चित गरेपश्चात् मात्र पूर्णखोप गाउँपालिका घोषणा गरेका हौँ,” स्वास्थ्य संयोजक उपाध्यायले भने । गाउँपालिकमा भएका एक हजार १०० बालबालिकालाई पूर्णखोप लगाइएको छ । तातोपानी गाउँपालिका जुम्ला–२ का स्थानीय महिला छायाँदेवी परियारले सुनौला हजार दिनको समय अवधिभित्र र जन्माएको चार पटकसम्म आफ्नी छोरीलाई नियमित खोप लगाएको बताए ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले पूर्णखोप गाउँपालिका घोषणा पहिलो एजेण्डा पूरा भएको जनाउँदै तत्काल पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको बताए । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका कार्यालय प्रमुख अंगदबहादुर शाहीले तीन गाउँपालिकासँगै अबको छ महिनाभित्र जुम्लालाई पूर्णखोप जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको बताए ।

जुम्लाका हिमा र सिंजा गाउँपालिका यसअघि नै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भइसकेका छन् । बाँकी चन्दननाथ नगरपालिका, गुठीचौर, पातारासी र कनकासुन्दरी गाउँपालिकामा पनि पूर्णखोप घोषणाको तयारी चलिरहेको जनाइएको छ ।